images
images
  • कर्णालीका छोरीको खातामा हरेक महिना ५ सय, उमेर २० वर्ष पुगेपछि मात्र झिक्न पाइने

    दैलेख- दैलेखको आठविस नगरपालिका-३ का २५ वर्षीया गोमा बडुवालले छोरीको नाममा बैंक खाता खोलिन् । र,कर्णाली प्रदेशले ‘बै‌ंक खाता छोरीको सुरक्षा जीवन भरिको’ कार्यक्रमबाट हरेक महिना ५ सयका दरले रकम जम्मा गरिदिन थाल्यो ।

    प्रदेश सरकारले हरेक छोरीको खातामा वार्षिक ६ हजार ५ सय रुपैयाँ जम्मा गरिदिन थालेपछि आफूलाई निकै राहत भएको उनले सुनाइन् । सुर्खेतको पञ्चपुरी नगरपालिका- ५ का लक्ष्मण नेपालीका तीन छोरी र एक छोरा छन् । ‘पहिले छोरी कसरी हुर्काउने पढाउने भनेर चिन्ता लाग्थ्यो,’ उनी भन्छन्, ‘अहिले सरकारले पैसा जम्मा गरिदिन थालेपछि पढाउन सजिलो हुने भयो ।’ कर्णालीले सुरु गरेको ‘बैंक खाता छोरीको सुरक्षा जीनभरिको’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।

    १२ हजार ५ सय २७ छोरी यो कार्यक्रममा सहभागी भएको सामाजिक विकास मन्त्रालय, महिला विकास अधिकृत सुनिता केसीले जानकारी दिइन् । उनका अनुसार गत आवमा ५ हजार २ सय २८ र चालु आव ०७८र७९ मा ७ हजार २ सय ९९ जनाले कार्यक्रम अन्तर्गत बैंक खाता खोलेका हुन् । तथ्यांक अनुसार सुर्खेतमा २ हजार ९ सय १५, दैलेखमा २ हजार ४ सय ३९, जाजरकोटमा १ हजार १ सय १८, सल्यानमा १ हजार ६ सय ९, रुकुम पश्चिममा १ हजार ४ सय २१, डोल्पामा ५ सय ३७ जना, जुम्लामा ९ सय ९ जना, कालीकोटमा ९ सय ९८, मुगुमा ३ सय १२ र हुम्लामा २ सय १७ जना यो कार्यक्रममा सहभागी बनेका छन् ।

    कार्यक्रम कर्णालीका ७९ वटै स्थानीय तहमा लागू भए पनि १० स्थानीय तहले विवरण पठाएका छैनन् । प्रदेश सरकारले १ साउन २०७६ मा कार्यविधि बनाएर लागू गरेको बैँक खाता छोरीको जीवनभरिकोबाट कर्णालीका छोरीले धेरै लाभ लिने दैलेखको आठविस नगरपालिकाकी उपमेयर दिपा बोहरा बताउँछिन् । आर्थिक वर्ष २०७६र७७ को नीति तथा कार्यक्रम र बजेटमा कर्णाली प्रदेशभित्र जन्मिएका छोरीको बैंक खाता खोल्ने कार्यक्रम ल्याइएको थियो ।

    प्रदेश सरकारले छोरीको खातामा २० वर्षसम्म पैसा जम्मा गर्नेछ । तर, त्यो रकम २० वर्ष पुगेपछि मात्र झिक्न पाइनेछ । बालविवाह र महिलामाथि हुने विभेद हटाउन यो कार्यक्रम सञ्चालन गरिएकाले २० वर्ष पुगेपछि मात्र पैसा झिक्ने गरी कार्यविधि तयार पारिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    कसरी खोल्न सकिन्छ खाता ?
    कार्यविधिअनुसार छोरी जन्मिएपछि अभिभावकले स्थानीय तहमा निवेदन दिनुपर्छ ।

    निवेदनका आधारमा स्थानीय तहले प्राप्त निवेदन, कागजातको जाँचबुझका आधारमा आवश्यक प्रक्रिया पुगेको भए खाता खोल्न अभिभावकसहित कर्णाली प्रदेशअन्तर्गत स्थानीय तहमा रहेका बैंकका शाखा कार्यालयमा खाता खोल्न सिफारिस गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images