काठमाडाैं । नेपालमा गैरकानूनी रूपमा हुने हुन्डी कारोबार पछिल्लो समय परम्परागत शैलीबाट रूपान्तरित भई आधुनिक प्रविधि र औपचारिक बैंकिङ प्रणालीको दुरुपयोग गर्दै सञ्चालित भइरहेको पाइएको छ ।
नेपाल राष्ट्र बैंक अन्तर्गतको वित्तीय जानकारी इकाईले तयार पारेको स्ट्राटेजिक एनालाइसिस रिपाेर्ट अन हुन्डी (२०२६)ले हुन्डीको सञ्चालन प्रणाली, वित्तीय जोखिम र मुख्य टाइपोलोजीहरू सार्वजनिक गर्दै यस्तो निष्कर्ष निकालेको हो ।
नेपालमा सम्पत्ति (शुद्धीकरण) निवारण ऐन, २०६४ को अनुसूची अनुसार हुन्डीलाई सम्पत्ति शुद्धीकरणको सम्बद्ध कसूरका रूपमा वर्गीकरण गरिएको छ भने मुलुकी अपराध संहिता, २०७४ को दफा १२५क बमोजिम इजाजतपत्र बिना हुन्डी कारोबार गर्नु दण्डनीय अपराध मानिन्छ ।
एफआईयुका अनुसार २ जनवरी २०२५ देखि १६ जुलाई २०२६ सम्म प्राप्त कुल १५ हजार ८१५ शंकास्पद कारोबार प्रतिवेदनहरू मध्ये १०.५७ प्रतिशत (१ हजार ६७२ वटा) हुन्डी कारोबारसँग सम्बन्धित थिए । यीमध्ये करिब ८९.८९ प्रतिशत प्रतिवेदनहरू वाणिज्य बैंकहरूद्वारा दर्ता गराइएका हुन् ।
प्रतिवेदनमा विश्लेषण गरिएको २०० नमुना प्रतिवेदन अनुसार हुन्डीमा संलग्नमध्ये ८४ प्रतिशत पुरुष रहेका छन् भने ६५.५ प्रतिशत व्यक्ति २५ देखि ४४ वर्ष उमेर समूहका छन् । भौगोलिक हिसाबले सबैभन्दा बढी मधेश प्रदेशका जिल्लाहरू (५३ प्रतिशत) यसमा जोडिएका छन्, जुन खुला सीमाना र वैदेशिक रोजगारीको चापसँग जोडिएको देखिन्छ ।
साथै, हुन्डीमा प्रयोग गरिएका व्यावसायिक फर्महरूमध्ये रिटेल ट्रेडिङ (४३ प्रतिशत) र रेमिट्यान्स सब-एजेन्टहरू (४१.५ प्रतिशत) को बाहुल्यता पाइएको प्रतिवेदनमा उल्लेख छ ।
एफआईयुले विश्लेषण गरेका हुन्डीका मुख्य टाइपोलोजीहरू
प्रतिवेदनले नेपालमा हुन्डी कारोबार कसरी र कुन-कुन ढाँचामा सञ्चालन भइरहेको छ भन्नेबारे ८ प्रमुख टाइपोलोजी पहिचान गरी विस्तृत विश्लेषण गरेको छ ।
हुन्डी सञ्चालकहरूले न्यून साक्षरता भएका वा अस्थायी आय भएका युवा, विद्यार्थी तथा गृहणीहरूका नाममा बैंक खाता खोलेर रकम सङ्कलन र लेयरिङ गर्ने गरेका छन् । विदेशमा आर्जित रकमलाई औपचारिक बैंकिङ प्रणालीमा नल्याई नेपालभित्र कनेक्ट अाइपिएस जस्ता डिजिटल माध्यमबाट टुक्रा-टुक्रा पारी यी खाताहरूमा भुक्तानी फर्छ्यौट गरिन्छ ।
त्यस्तै, प्रतिवेदनमा सीमाभन्दा बढीको नगद कारोबार प्रतिवेदन छल्न १० लाखभन्दा कम रकमका अनेकौँ नगद जम्मा गरी कनेक्ट अाइपिएसमार्फत तुरुन्तै अन्य विभिन्न खाताहरूमा स्थानान्तरण गरिने गरेकाे उल्लेख छ ।
नक्कली वा कागजी रूपमा मात्र खडा गरिएका व्यापारिक फर्महरूको नाममा बैंक खाता सञ्चालन गरी हुन्डीको अवैध रकमलाई वैध व्यापारिक कारोबारका रूपमा देखाउने गरिएको पनि प्रतिवेदनमा उल्लेख छ ।
हुन्डी सञ्चालकहरूले सीमापार रकम फर्छ्यौट गर्न परम्परागत माध्यमको साटो युएसडिटी जस्ता स्थिर क्रिप्टोकरेन्सी को प्रयोग बढाएका छन्, जसले कागजी प्रमाण नष्ट गर्न मद्दत गर्ने गरेकाे पनि एफआईयुकाे अनुसन्धानले देखाएकाे छ ।
साथै, नेपाल र भारतबीचको १ हजार ७५१ किमी खुला सीमाको फाइदा उठाउँदै क्यास कुरियरमार्फत सीमापारिबाट भारतीय वा नेपाली नगद ओसारपसार गरी बैंक खाताहरूमा जम्मा गरिने र ह्वाट्सएप जस्ता गुप्तिकृत एपहरू मार्फत मुद्राका नोटहरूको सिरियल नम्बरको फोटो पठाई भुक्तानीको पुष्टि गरिने गरेकाे प्रतिवेदनमा उल्लेख छ । यसमा वास्तविक पैसा सीमापार नगई कोडका आधारमा परम्परागत फर्छ्यौट गर्ने गर्दछन् ।
एफआईयुकाे अध्ययनले इजाजतपत्र प्राप्त विप्रेषण कम्पनीका स्थानीय सब-एजेन्टहरूले औपचारिक विप्रेषण भुक्तानीको बहानामा हुन्डीको रकम नगदमा प्राप्त गरी गैरकानूनी फर्छ्यौट गर्ने गरेको पनि विश्लेषण गरेकाे छ ।
त्यस्तै, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूले विदेशमा कमाएको विदेशी मुद्रा हुन्डी एजेन्टहरूले रोकेर अवैध सुन खरिदमा प्रयोग गर्ने र त्यसपछि नेपालभित्र सुन बिक्री गरी सङ्कलित नेपाली नगदलाई श्रमिकका परिवारलाई हुन्डीमार्फत भुक्तानीकाे अभ्यास गरी राज्यकाे प्रणालीलाई छल्ने गरेकाे पनि अनुसन्धानले देखाएकाे छ ।
विगत पाँच आर्थिक वर्षमा नेपाल प्रहरीले हुन्डीसम्बन्धी १९७ वटा अनुसन्धान अघि बढाएको छ, जसबाट अदालतको अन्तिम फैसलामार्फत २७३.६२ करोड जफत भइसकेको छ । हुन्डी कारोबार पछिल्लो समय संगठित, अन्तर्राष्ट्रिय र डिजिटल रूपमा समन्वयित बन्दै गएकाले कानून कार्यान्वयन निकाय, बैंक तथा वित्तीय संस्था र नियामक निकायहरूबीच प्रविधिमा आधारित एकीकृत अनुसन्धान आवश्यक रहेको प्रतिवेदनले औँल्याएको छ ।





















