images
images
  • ‘स्थानीय चुनाव बैशाख र प्रदेश चुनाव मंसिरमा गरौं, देश जलाउँदा खर्च नहुने अनि चुनाव गराउँदा खर्चको डर ?’

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशको चुनाव हुनैपर्ने बताएका छन्। बिहीबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग गरेको भेटघाटमा बोल्दै उनले यस्तो बताएका हुन्।

    उनले सरकारले विभिन्न बहानामा संविधान मिच्ने काम गरेको आरोप लगाउँदै त्यस्तो छुट कसैलाई नभएको बताए।

    पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले पूरा कार्यकाल काम गर्न पाउनुपर्ने उनको भनाइ छ। त्यसैले बैशाखमा पाँच वर्ष स्थानीय तहका प्रतिनिधिहरुको कार्यकाल पूरा हुने भएकोले सोही बेला निर्वाचन गर्नुपर्ने बताए।

    उनले भने, ‘प्रदेशको मध्यावधि हुन लागेको हो र ? मध्यावधि होइन भने त्यसको आफ्नो प्रक्रिया हुन्छ नि! लोकतन्त्रमा चुनाव गराउँदा खर्च भयो भन्ने कुराले कहाँ पु¥याउँला ? १५–१६ अर्ब खर्च हुन्छ रे ! त्यसो भए सरकार छँदैछ किन चुनाव गराउने खर्च बेकार ? देश आगो लगाइन्जेल खर्च भएन। चुनाव गराउनुपर्छ भन्दा खर्च हुन्छ भनेर हुन्छ। २०८४ मा हुनुपर्ने चुनाव अस्ति किन गर्न परेको थियो त ? खर्च हुन्थ्यो भने त सुशीला कार्कीको सरकारलाई २०८४ सम्म चल्न दिएको भए हुन्थ्यो त!’

    उनले संविधान र कानुनअनुसार देश चल्नुपर्ने बताए। खर्च जोगाउने भए मंसिरमा प्रदेशसँगै संघको पनि चुनाव गर्न प्रस्ताव गरे।

    उनले भने, ‘देश कसैको हुकुमबाट चल्दैन। वैशाखमा स्थानीय र मंसिरमा प्रदेशको चुनाव हुनुपर्छ। पटक–पटक चुनाव गराउँदा खर्च हुन्छ भने प्रदेश र संघको चुनाव एकै पटक हुने गरेकै छ, मंसिरमा गरौँ न! एकै पटक गराउँदा ५ वर्षका लागि भइहाल्थ्यो। पहिले पनि गरेकै थियो। अब पनि खर्च जोगाउन प्रदेश र संघको एकै पटक गरौँ। आफ्नो चाहिँ पूरै कार्यकाल चल्नुपर्ने अरूको नभए पनि हुने?’

    प्रतिक्रिया दिनुहोस्
    images
    images