images
images
  • सन् २०२७ को मार्चसम्म १२ नयाँ विकीरण केन्द्र खोल्दै इरान

    काठमाडौं– इरानको परमाणु ऊर्जा संगठनका उपप्रमुख होसेन सादेघीले इरानी वर्षको अन्त्य अर्थात् मार्च २०२७ सम्म १२ वटा नयाँ विकीरण केन्द्र सञ्चालनमा ल्याइने बताएका छन्। इस्लामिक रिपब्लिक न्युज एजेन्सी (आईआरएनए) का अनुसार उनले यस्तो जानकारी दिएका हुन्।

    इरानको गिलान प्रान्तस्थित रसजतमा विकीरण प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रममा होसेन सादेघीले उक्त घोषणा गरेका हुन्। आईआरएनएका अनुसार यी केन्द्रले खाद्य सुरक्षा सुधार गर्न र कृषि उत्पादनको निर्यात बढाउन सहयोग गर्नेछन्।

    संयुक्त राष्ट्रसंघीय परमाणु निगरानी निकाय अन्तर्राष्ट्रिय परमाणु ऊर्जा एजेन्सी (आईएईए) का अनुसार परमाणु विज्ञानको प्रयोगबाट बालीमा लाग्ने कीराहरू नियन्त्रण गर्न सकिन्छ। यस्ता कीराका कारण प्रत्येक वर्ष कृषि उत्पादनको ठूलो हिस्सा नष्ट हुने गरेको छ।

    आईएईएका अनुसार परमाणु विज्ञानले वनस्पतिमा लाग्ने रोगको प्रारम्भिक पहिचान गर्न पनि सहयोग पुर्‍याउन सक्छ।

    यसैबीच ओमानको खासाब बन्दरगाह नजिक नौसैनिक बारुदी सुरुङमा ठोक्किएपछि दुईवटा तेल ट्यांकरमा आगलागी भएको इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले जनाएको छ।

    आईआरजीसीको नौसेनाले ती जहाजले ‘अनधिकृत’ मार्ग प्रयोग गर्न खोजेको दाबी गरेको छ। प्रेस टीभीका अनुसार तीमध्ये एउटा जहाजमा २० लाख ब्यारेल कच्चा तेल थियो।

    आईआरजीसीले भनेको छ, ‘पहिचान नखुलेका र आफ्नो नेभिगेसन प्रणाली बन्द गरेका यी तेल ट्यांकर आक्रमणकारी अमेरिकी सेनाका लडाकु विमानको सहारा लिएर लुकीछिपी पार हुने प्रयासमा थिए। होर्मुज जलडमरूमध्यको अनधिकृत मार्गमा नौसैनिक बारुदी सुरुङले आगो र विस्फोटसहित उनीहरूलाई रोक्यो।’

    इरानको अनुमतिविना होर्मुज जलडमरूमध्य पार गर्न खोज्ने जहाजमाथि पछिल्ला केही सातादेखि आक्रमण बढेको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images