२०६२/०६३ सालको जनआन्दोलन पछि हुन लागेको संविधान सभाको चुनावमा नेताका ढोका बाहिरैँ कति मान्छे भित्र छन् भनेर गणना गर्न मुस्किल हुन्थ्यो । किन कि त्यहाँ पशुपति नाथमाभन्दा बढि जुत्ता हुन्थे । कारण थियो– ‘चुनावको टिकट’ ।
त्यसैबेला एउटा पार्टीका प्रस्तावित उम्मेदवार भोटाहिटीमा जुत्ता किन्दै गरेको अवस्थाम भेटिए । उनी फित्ता नभएको जुता खोजिरहेका थिए । कारण– ‘टिकटका लागि नेताको घर चहार्नका लागि फुकाल्न समय लाग्यो ।’
‘प्राइमरी इलेक्सन’का धेरै औचित्य यो माथिको घटनाले नै सबै प्रस्ट बताउँछ । नेताका घरमा कोशेली बोक्नु, उस्तै परे राति १२ बजेसम्म कुरेर नेतालाई त्यो कोशेली बुझाएर टाउको कन्याउँदै टिकट माग्नु दिनचर्या जस्तै बन्ने गरेको तथ्य धेरैलाई थाहा छ ।
‘प्राइमरी इलेक्सन’ भनेको वडादेखिबाट सुरु हुन्छ । एउटा वडाअध्यक्ष वा सदस्य कु्नै पार्टीको उम्मेदवार बन्न त्यो वडामा रहेको आफ्ना पार्टी सदस्यबाट चुनाव जित्नु पर्ने हुन्छ । त्यसमा वडाभन्दा माथिका त्यो पार्टीका नेताको कुनै निर्णयक भूमिका रहँदैन । त्यसैगरी पालिकाका अध्यक्ष वा उपाध्यक्षका उम्मेदवार अगाडि सार्न पनि पालिकाभरीका पार्टी सदस्यहरूबाट पहिले निर्वाचित हुनुपर्दछ । त्यसपछि अरू प्रतिस्पर्धी पार्टीसँग चुनाव त लड्न बाँकी नै हुन्छ । त्यसैगरी प्रदेश सभा र प्रतिनिधिसभाको पनि यही रितले प्राइमरी इलेक्सन हुने गर्दछ ।
नेपालमा ‘प्राइमरी इलेक्सन’को पहिलो प्रस्ताव राष्ट्रिय स्वतन्त्र पार्टीले अगाडि सारेको हो । उसले आंशिक रूपमा भएपनि यसलाई लागू गरेको छ । तर, यसलाई पूर्णरूपमा लागू गरेको छैन । यसबेला जारी केन्द्रीय समितिको बैठकमा यसलाई आफ्नो पार्टीभित्र लागू गर्ने प्रस्ताव अगाडि सारिएको छ । यसले नेपालमा विस्तारै देश प्राइमरी इलेक्सनको एजेण्डामा प्रवेश गर्दै गएको छ । यसलाई विशेषगरी अमेरिकी प्रणालीसँग जोडेर हेर्ने गरिएको छ ।
‘प्राइमरी इलेक्सन’को नाम सुन्ने वित्तिकै केही पार्टीका शीर्ष नेताको कन्सिरी रन्केर आउँछ । उनीहरू यसको विपक्षमा नै देखा पर्ने गरेका छन् । किन कि उनीहरूको हातबाट प्रेमिकाको टिकट खोसिन्छ । छोराछोरी, भाइ, भतिजा, साल–साली त्यसबाट बन्चित हुन्छन् । आफ्ना नजिकका जीहजुरी गर्नेको भाग खोसिन्छ । किन कि उनीहरू भूगोलमा हुँदैनन् । नेताको वरिपरि सुमेरू पवर्त घुमेर बसेका हुन्छन् ।
‘प्राइमरी इलेक्सन’को भनेको राजनीतिक दलहरूले आम निर्वाचनका लागि आ–आफ्नो पार्टीको आधिकारिक उम्मेदवार छनोट गर्न गर्ने आन्तरिक मतदान प्रक्रिया हो । यस प्रक्रियामा पार्टीका सदस्यहरूले मतदान गरेर आगामी मुख्य चुनावमा पार्टीको तर्फबाट कसले प्रतिस्पर्धा गर्ने भन्ने निर्णय गर्छन् ।
राजनीतिक विश्लेषक तथा निर्वाचन प्रणालीका जानकारहरूका अनुसार प्राइमरी इलेक्सनका मुख्य फाइदा र बेफाइदाहरू छन् ।
‘प्राइमरी इलेक्सन’का फाइदाहरू
आन्तरिक लोकतन्त्रको उच्चतम भाषा : पार्टीको नेतृत्व वा सीमित नेताहरूको तजबिजमा टिकट बाँड्ने प्रथाको अन्त्य भई तल्लो तहका कार्यकर्ता र सदस्यहरूको मतबाट उम्मेदवार छानिन्छन् ।
जनप्रिय र सक्षम उम्मेदवारको छनोट : मतदाताको प्रत्यक्ष रोजाइमा परेका व्यक्ति मात्र उम्मेदवार बन्ने भएकाले आम निर्वाचनमा पार्टीले जित्ने सम्भावना बलियो हुन्छ ।
नेतृत्वप्रतिको जवाफदेहिता : टिकट पाउनका लागि नेताको चाकडी गर्नुभन्दा कार्यकर्ता र मतदाताको मन जित्नुपर्ने भएकाले उम्मेदवारहरू जनताप्रति बढी उत्तरदायी हुन्छन् ।
गुटबन्दी र असन्तुष्टिमा कमी : पारदर्शी मतदानबाट उम्मेदवार छानिने हुँदा टिकट नपाउने पक्षले असन्तुष्टि जनाउने वा बागी उम्मेदवारी दिने सम्भावना कम रहन्छ ।
‘प्राइमरी इलेक्सन’का बेफाइदाहरू
अत्यधिक खर्चिलो प्रक्रिया : आम निर्वाचनअघि नै अर्को चुनाव जस्तै प्रचारप्रसार र मतदानको व्यवस्था गर्नुपर्ने भएकाले पार्टी र उम्मेदवार दुवैको ठूलो धनराशि खर्च हुन्छ ।
आन्तरिक विभाजन र तिक्तता : एउटै पार्टीका नेताहरूबीच कडा प्रतिस्पर्धा हुँदा एक–अर्काको आलोचना हुने र यसले पार्टीभित्रको एकतामा असर पु¥याउन सक्छ ।
कट्टरपन्थी विचारको हावी : कतिपय अवस्थामा पार्टीका कट्टर समर्थकहरूले मात्र मतदान गर्ने हुँदा मध्यमार्गीभन्दा अतिवादी वा कट्टर विचारधारा भएका उम्मेदवार छानिने जोखिम रहन्छ ।
व्यवस्थापकीय जटिलता : मतदाता नामावली अद्यावधिक गर्ने, मतदान केन्द्र तोक्ने र निष्पक्ष मतगणना गर्ने कार्य पार्टीको आन्तरिक संयन्त्रका लागि प्राविधिक रूपमा चुनौतीपूर्ण हुन सक्छ ।






















