काठमाडौं– इरानको आणविक ऊर्जा संगठनका प्रमुख मोहम्मद इस्लामीले देशको नागरिक आणविक कार्यक्रमलाई अब रोक्न नसकिने बताएका छन्।
संगठनका प्रमुख इस्लामीले इरानले आणविक हतियार बनाउन खोजिरहेको भन्ने आरोप निराधार रहेको बताउँदै यस्ता आरोप इरानको वैज्ञानिक प्रगतिलाई रोक्ने उद्देश्यले लगाइएको औंल्याए।

गिलान प्रान्तको रश्तमा स्थापना गरिएको नयाँ विकीरण प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै इस्लामीले यस्तो धारणा राखेका हुन्।
इरानले लामो समयदेखि आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण र नागरिक प्रयोजनका लागि मात्रै भएको दाबी गर्दै आएको छ। इरान सरकारका अनुसार आणविक कार्यक्रम विद्युत् उत्पादन, चिकित्सा अनुसन्धान र कृषि क्षेत्रमा प्रयोग हुँदै आएको छ।
तर इजरायलले भने इरान आणविक हतियार निर्माण गर्ने प्रयासमा रहेको आरोप लगाउँदै आएको छ। इजरायलसँग पनि सार्वजनिक रूपमा घोषणा नगरिएको आणविक हतियार भण्डार रहेको छ। विभिन्न अनुमानअनुसार इजरायलसँग दर्जनौँ आणविक हतियार छन्।






















