images
images
  • आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

    काठमाडौं– उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिएका छन् ।

    आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने सङ्केतका रूपमा किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन् ।

    सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसीएनए) का अनुसार उनले आधुनिक युद्धमा सामरिक आणविक हतियारको महत्त्व र शत्रु राष्ट्रसँग सीमा जोडिएको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सैन्य प्रयोजनमा तिनको प्रयोग गर्न सकिने क्षमता विकास गर्नुपर्ने बताए ।

    किमले आणविक नीतिलाई राज्यको सार्वभौमिकताको प्रमुख आधार बताउँदै आफ्नो आणविक क्षमता वास्तविकता बनिसकेको उल्लेख गरे । उनले अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरेको आरोप पनि लगाए ।

    किमको पछिल्लो अभिव्यक्तिले अमेरिकासँगको आणविक वार्तामा उत्तर कोरियाको दृष्टिकोण परिवर्तन भएको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले बताए ।

    उनका अनुसार प्योङयाङले आणविक निःशस्त्रीकरणको सट्टा पारस्परिक आणविक खतरा र हतियार नियन्त्रणमा वार्ता सीमित गर्न खोजेको छ ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा उत्तर कोरियासँग ५७ वटा आणविक हतियार रहेको बताउनुभएको थियो । दक्षिण कोरियाको अनुमानमा प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार छन् ।

    सन् २०१९ मा हनोई शिखर सम्मेलन कुनै सम्झौताबिना समाप्त भएपछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अवरुद्ध छ । ट्रम्पले किमसँग चौथो भेट गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images