images
images
  • प्रधानमन्त्री बालेनको भारत भ्रमणलाई चीनले कसरी हेर्‍यो ?

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को पहिलो विदेश भ्रमण भारतबाट सुरु हुनुलाई चीनले नेपालको कूटनीतिक रणनीतिमा आएको परिवर्तनका रूपमा व्याख्या गरेको छ ।

    चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्समा प्रकाशित विश्लेषणमा शाहको भारत भ्रमणलाई चीनविरोधी कदम नभई नेपाललाई परम्परागत ‘बफर स्टेट’ बाट ‘ब्रिज स्टेट’ बनाउने प्रयासका रूपमा उल्लेख गरिएको छ ।

    फुदान विश्वविद्यालयका दक्षिण एसियाली अध्ययन केन्द्रका निर्देशक झाङ जियादोङले लेखेको विश्लेषणमा सरकारले परराष्ट्र नीतिलाई दलगत राजनीति र वैचारिक प्रभावबाट मुक्त गर्दै आर्थिक विकास र व्यावहारिक सहकार्यमा केन्द्रित गर्न खोजेको उल्लेख छ ।

    उनका अनुसार नेपालले चीन र भारतबीच सन्तुलन कायम गर्ने परम्परागत अभ्यासभन्दा दुवै छिमेकीसँग सहकार्य गर्दै आफ्नो भौगोलिक अवस्थालाई आर्थिक विकासको अवसरमा बदल्न खोजेको छ ।

    भारत भ्रमणका क्रममा ऊर्जा, यातायात, लगानी, शिक्षा, स्वास्थ्य र कृषिमा सहकार्यलाई प्राथमिकता दिइएको विषयलाई पनि चीनले सकारात्मक रूपमा विश्लेषण गरेको छ ।

    भारतका लागि निश्चलनाथ पाण्डे र चीनका लागि कल्याणराज शर्मालाई राजदूत नियुक्त गर्नुले कूटनीतिलाई व्यावसायिक र विशेषज्ञतामा आधारित बनाउने प्रयास झल्काएको विश्लेषणमा उल्लेख छ ।

    नेपालले भारतसँग सम्बन्ध विस्तार गरे पनि चीनसँगको सहकार्यलाई निरन्तरता दिएको विषयलाई पनि लेखमा जोड दिइएको छ ।

    संयुक्त राष्ट्रसंघको महासभामा नेपाल, भारत र चीनबीच हिमनदीको निगरानी, तथ्यांक आदानप्रदान तथा विपद् पूर्वसूचनाका लागि ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव गर्नुलाई त्रिपक्षीय सहकार्यको उदाहरण मानिएको छ ।

    यद्यपि नेपाललाई ‘बफर स्टेट’ बाट ‘ब्रिज स्टेट’ बनाउने सोच अझै नीतिगत चरणमै रहेको चीनको विश्लेषण छ ।

    आन्तरिक राजनीतिक स्थिरता, कूटनीतिक निरन्तरता र छिमेकीसँगको सहकार्यबाट प्राप्त हुने ठोस उपलब्धि नै यस रणनीतिको सफलताका आधार हुने झाङको निष्कर्ष छ ।

    प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई विकास सहायता, ऊर्जा परियोजनाका लागि सहुलियतपूर्ण ऋण, हवाई रुट विस्तार, बन्दरगाह पहुँच तथा पूर्वाधार विकासमा सहयोग गर्ने सहमति गरेको थियो ।

    त्यस्तै, तल्लो अरुण जलविद्युत् आयोजना र झापाको पेट्रोलियम टर्मिनलको शिलान्याससहित विभिन्न आठवटा समझदारीपत्र आदानप्रदान भएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images