काठमाडौं– पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको मस्तुङ जिल्लामा शनिबार गरिएको दुई छुट्टाछुट्टै सुरक्षा कारबाहीमा १५ जना लडाकु मारिएका छन् ।
सुरक्षा स्रोतका अनुसार पहिलो कारबाहीमा पाँच जना लडाकु मारिएका थिए भने दोस्रो कारबाहीमा थप १० जना मारिएका हुन् ।
कारबाहीका क्रममा लडाकुका विभिन्न आश्रयस्थलसमेत ध्वस्त पारिएको सुरक्षा स्रोतले जनाएको छ ।
साथै, घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलीगठ्ठा बरामद गरिएको बताइएको छ ।
पाकिस्तानी सुरक्षा बलले सञ्चालन गरेका यी कारबाही मस्तुङ जिल्लाका छुट्टाछुट्टै स्थानमा भएका थिए ।
यद्यपि, मारिएका लडाकुको पहिचान तथा उनीहरू कुन समूहसँग सम्बन्धित थिए भन्नेबारे स्रोतले थप विवरण सार्वजनिक गरेको छैन ।
बलुचिस्तान पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा अवस्थित प्रान्त हो ।
उक्त क्षेत्रमा लामो समयदेखि विद्रोही समूहका गतिविधि हुँदै आएका छन् ।






















