images
images
  • बालबालिका झूट बोल्छन्, के यो उनीहरूको विकासको सङ्केत हो ?

    काठमाडौं- घरको भित्तामा अचानक चित्र कोरिएको देखियो वा बट्टामा राखिएका बिस्कुट हराए भने तपाईंको बच्चाले त्यसको दोष कुकुरलाई लगाउन सक्छ। उसले भूतले यस्तो गरेको हो भन्न पनि सक्छ। जबकि उसको हातमा रङ्गीन पेन्सिल हुन सक्छ वा कपडामा बिस्कुटका टुक्रा टाँसिएका हुन सक्छन्।

    बालबालिकाले सानातिना झूट बोल्नु अधिकांश अभिभावकले सामना गर्नुपर्ने सामान्य व्यवहार हो। तर सत्य लुकाउनु वा अरूलाई झुक्याउने प्रयास गर्नु उनीहरूको सोच्ने, बुझ्ने र अरूको मनस्थिति अनुमान गर्ने क्षमताको विकाससँग जोडिएको महत्त्वपूर्ण प्रक्रिया हुन सक्छ।

    मनोस्वास्थ्य विशेषज्ञ तथा क्लिनिकल साइकोलोजिस्ट डा. जेड रेडफर्नले भनिन्, ‘वास्तवमा बालबालिकाले एउटा सीप सिकिरहेका हुन्छन्। उनीहरू यसलाई अझ राम्रोसँग गर्न सकियोस् भनेर विभिन्न तरिकाले प्रयोग र अभ्यास गरिरहेका हुन्छन्।’

    विशेषज्ञहरूका अनुसार बालबालिकाले झूट बोल्न सिक्नु उनीहरूको सामान्य विकासको एउटा सङ्केत हुन सक्छ। तर उनीहरूलाई सत्य बोल्न कसरी प्रोत्साहित गर्ने भन्ने कुरा पनि उत्तिकै महत्त्वपूर्ण छ। यस विषयमा अभिभावकले कस्तो व्यवहार गर्नुपर्छ भन्नेबारे विशेषज्ञहरूले विभिन्न सुझाव दिएका छन्।

    बालबालिकाले कुन उमेरदेखि झूट बोल्न थाल्छन् ?

    डा. रेडफर्नका अनुसार अत्यन्त साना बालबालिकाले सोचविचार गरेर योजनाबद्ध रूपमा झूट बोल्न सक्ने क्षमता विकास गरिसकेका हुँदैनन्। यद्यपि उनीहरूले एक वर्षको उमेर पुग्नुअघि नै अरूलाई झुक्याउने प्रयास गर्न भने थालिसकेका हुन सक्छन्।

    यहाँ ब्रिस्टल विश्वविद्यालयमा गरिएको एउटा अध्ययनको पनि चर्चा गरिएको छ। उक्त अध्ययनले करिब एकचौथाइ बालबालिकाले १० महिनाको उमेरसम्म आइपुग्दा कुनै न कुनै रूपमा अरूलाई झुक्याउने व्यवहार बुझ्न र प्रयोग गर्न थाल्ने देखाएको थियो।

    उक्त अध्ययनको नेतृत्व गर्ने प्राध्यापक एलेना होइका यति सानो उमेरका बालबालिकाले पनि कति चतुर तरिकाले अरूलाई झुक्याउन सक्छन् भन्ने कुरा आफूहरूका लागि आश्चर्यजनक भएको बताउँछिन्। उनले आफ्नै बालबालिकामा पनि यस्तो व्यवहार देखेकी छन्।

    उनी भन्छिन्, ‘तीन सन्तानकी आमा भएका नाताले म यति भन्न सक्छु कि उनीहरूले कति सहज र चलाखीपूर्ण तरिकाले अरूलाई झुक्याउन सक्छन् भन्ने कुरा आफैँले देखेकी छु।’

    उमेर बढ्दै जाँदा बहाना बनाउने तरिका पनि फेरिँदै जान्छ

    प्राध्यापक होइकाका अनुसार दुई वर्षको उमेरमा बालबालिकाले बोल्ने झूट र बनाउने बहाना निकै सामान्य तथा सीधा प्रकृतिका हुन्छन्। उदाहरणका लागि अभिभावकले भनेको कुरा नसुने झैँ गर्नु वा आफूले कुनै काम नगरेको दाबी गर्नु यसका उदाहरण हुन्।

    ‘यस उमेरका बालबालिकाले आफूलाई गर्न नदिइएका काम पनि लुकीछिपी गर्न सक्छन्’, उनी भन्छिन्, ‘जस्तैः कसैले नहेरेको बेला नहेर्न भनिएको झोलाभित्र चियाउनु वा कोठा सफा गर्न भनिएपछि बाथरुम जानुपर्ने बहाना बनाउनु।’

    तीन वर्षको उमेर पुग्दासम्म बालबालिकाले झूट बोल्ने र कुनै कुरा लुकाउने नयाँ-नयाँ तरिका सिकिसकेका हुन्छन्। यसले उनीहरूको भाषिक क्षमता र अरू मानिसले के सोचिरहेका होलान् भन्ने बुझ्ने क्षमतामा विकास भइरहेको सङ्केत गर्छ।

    यस उमेरमा उनीहरूले केही कुरा जानाजानी नभन्ने व्यवहार पनि देखाउन सक्छन्।

    उदाहरणका लागि उनीहरूले अभिभावकलाई आफ्नो दाजु, दिदी वा भाइबहिनीले आफूलाई कुटेको कुरा साँचो रूपमा बताउन सक्छन्। तर त्यसअघि आफूले नै उनीहरूलाई कुटेको कुरा भने लुकाउन सक्छन्।

    झूट बोल्नु बाल विकासको सङ्केत कसरी हो ?

    डा. रेडफर्नका अनुसार बालबालिकाले यसरी झूट बोल्नु वा केही कुरा लुकाउनुको अर्थ उनीहरूले अरू मानिसको सोचाइ आफ्नो सोचाइभन्दा फरक हुन सक्छ भन्ने बुझ्न थालेका छन् भन्ने हो। मनोविज्ञानमा यसलाई ‘थ्योरी अफ माइन्ड’ भनिन्छ।

    ‘बालबालिका हुर्कंदै जाँदा उनीहरूले आफू अरूभन्दा अलग व्यक्ति हुन् भन्ने कुरा बुझ्नुपर्छ भन्ने हामी चाहन्छौँ। उनीहरूको आफ्नै सोचाइ र इच्छा हुन्छन् भन्ने कुरा पनि उनीहरूले बुझ्न थाल्छन्’, उनी यसलाई स्पष्ट पार्दै भन्छिन्, ‘यही बुझाइको विकाससँगै उनीहरूले अरू मानिसका भावना र विचारबारे सोच्न सिक्छन्। अरू व्यक्तिको विचार र भावना आफ्नोभन्दा फरक हुन सक्छ भन्ने कुरा उनीहरूले बुझ्न थाल्छन्।’

    बालबालिकाले झूट बोल्नुको अर्को कारण आफूलाई जोगाउनु पनि हुन सक्छ। उनीहरू आफ्ना अभिभावकलाई रिस उठाउन वा निराश बनाउन चाहँदैनन्।

    डा. रेडफर्न भन्छिन्, ‘हरेक मानिस आफू नजिकका व्यक्तिसँग जोडिएर रहन चाहन्छ। बालबालिका पनि आफ्नो हेरचाह गर्ने व्यक्तिसँगको सम्बन्ध जोगाउन चाहन्छन्, किनकि उनीहरू जीवनयापन र सुरक्षाका लागि ती व्यक्तिमाथि निर्भर हुन्छन्।’

    उनका अनुसार बालबालिकाले सानै उमेरदेखि कुन कुरा गर्दा अभिभावक वा आफ्नो हेरचाह गर्ने व्यक्ति आफूसँग नजिक हुन्छन् र कुन कुरा गर्दा उनीहरूबीच दूरी बढ्न सक्छ भन्ने बुझ्न थाल्छन्।

    त्यसैले डा. रेडफर्न बालबालिकालाई सत्य बोल्न प्रोत्साहित गर्न उनीहरूले कुनै डर वा दबाबविना आफ्नो कुरा राख्न सक्ने सुरक्षित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिन्छिन्।

    उनी भन्छिन्, ‘जब बालबालिकाबाट कुनै गल्ती हुन्छ र उनीहरू हामीलाई निराश बनाउन चाहँदैनन्, त्यतिबेला उनीहरूले ढुक्क भएर सत्य कुरा बताउन सक्ने वातावरण कसरी बनाउने भन्ने विषयमा हामीले सोच्नुपर्छ।’

    बच्चाले झूट बोल्यो भने अभिभावकले के गर्ने ?

    टेलिभिजन कार्यक्रम द ट्रेटर्स को पछिल्लो सिजनकी विजेता रेचल डफीले पनि आफ्ना बालबालिकाका लागि यस्तै सुरक्षित वातावरण बनाउने प्रयास गर्ने गरेको बताएकी छन्।

    तीन सन्तानकी आमा रेचलले आफ्नो परिवारमा घटेको एउटा घटना सम्झिएकी छन्। उनका जेठा छोराले आफ्नो भाइको साइकल लिएर चलाउँदा एउटा कारमा ठोक्किएर साइकल बिग्रिएको थियो। सुरुमा उसले आफूले गरेको गल्ती लुकाउन झूट बोल्ने प्रयास गरेको थियो।

    रेचलका अनुसार उनले छोरालाई भनिन्, ‘यदि तिमीले मलाई साँचो कुरा बतायौ भने तिमीले धेरै गाली खानुपर्ने छैन।’

    त्यसपछि उनी त्यहाँबाट बाहिर गइन् र छोरालाई केही समय एक्लै छाडिन्।

    केही समयपछि छोराले भन्यो, ‘हो, यो काम मैले नै गरेको हुँ।’

    रेचल भन्छिन्, ‘उसले आफूले सत्य कुरा बताउँदा डराउनुपर्दैन भन्ने बुझ्यो। त्यसपछि हामीले यस विषयमा कुरा गर्‍यौँ। कसैले पनि ठूलो स्वरमा बोलेन, रिसाएन र चिच्याएन।’

    डा. रेडफर्नका अनुसार यस्तो परिस्थितिलाई सम्हाल्ने यो निकै राम्रो तरिका हो।

    उनका विचारमा केही अवस्थामा झूट बोल्नु वा कुनै कुरा अलि विचार पुर्‍याएर प्रस्तुत गर्नु पनि ठीक हुन सक्छ। उदाहरणका लागि बालबालिकाले आफूलाई मन नपरेको उपहार पाउँदा वा अरू कसैको शरीर र बाहिरी रूपबारे आफ्नो धारणा व्यक्त गर्दा यस्तो हुन सक्छ।

    उनी भन्छिन्, ‘केही समयअघि मेरा बालबालिकाले निकै निर्दोष भावमा मेरो अनुहारमा धेरै चाउरी परेको छ भनेर भने। मैले त्यसमा रिसाउनुको सट्टा उनीहरूलाई किन त्यस्तो लागेको हो भन्ने बुझ्ने प्रयास गरेँ।’

    डा. रेडफर्नले बालबालिकासँग उनीहरूले त्यस्तो कुरा किन भने भन्ने विषयमा कुराकानी गरिन्।

    उनी भन्छिन्, ‘बालबालिका हुर्कंदै जाँदा उनीहरूसँग खुलेर कुराकानी गर्नु र उनीहरूको कुरा बुझ्ने प्रयास गर्नु निकै महत्त्वपूर्ण हुन्छ। जब बालबालिकाले बारम्बार आफ्ना भावना र विचारलाई बुझ्ने प्रयास गरिएको अनुभव गर्छन्, तब उनीहरूले पनि अरू मानिसका भावना बुझ्न सिक्छन्।’

    -जर्ज स्यान्डम्यान/बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images