images
images
  • कोलम्बियामा सरकारविरुद्ध उत्रिए सडकमा हजारौँ नागरिक

    काठमाडौं– कोलम्बियामा राष्ट्रपति अबेलार्डो डे ला एस्प्रिएलाको सरकारविरुद्ध हजारौँ नागरिक सडकमा उत्रिएका छन् । प्रस्तावित कर सुधार र बढ्दो जीवनयापन खर्चको विरोधमा उनीहरूले दोस्रो पटक देशव्यापी प्रदर्शन गरेका हुन् ।

    यसैबीच अमेरिकासँग सैन्य सहकार्य विस्तार गर्ने सरकारको योजनालाई लिएर पनि आलोचना भइरहेको छ ।

    बिहीबार राजधानी बोगोटालगायत देशका प्रमुख सहरहरूमा ट्रेड युनियन, विद्यार्थी तथा विपक्षी समूहहरूले प्रदर्शन गरेका थिए । उनीहरूले आयकर लाग्ने न्यूनतम आम्दानीको सीमा घटाउने, स्वास्थ्य सेवामा नागरिकको योगदान बढाउने र कम्पनीहरूको कर घटाउने सरकारी प्रस्तावको विरोध गरेका हुन् ।

    २१ वर्षीया मनोविज्ञानकी विद्यार्थी लेइडी गुटिएरेजले एएफपी समाचार संस्थासँग भनिन्, ‘कोलम्बियाको ठुलो हिस्सा आफूलाई असुरक्षित महसुस गरिरहेको छ । धनीहरू नै थप पैसा कमाइरहेका छन् ।’

    प्रस्तावित कर सुधारअनुसार मासिक करिब ९८५ अमेरिकी डलरभन्दा बढी आम्दानी गर्ने कोलम्बियाली नागरिकले आयकर तिर्नुपर्नेछ । हाल यो सीमा करिब १ हजार ४१९ अमेरिकी डलर रहेको छ ।

    सरकारले वित्तीय सङ्कटका कारण राजस्व वृद्धि गर्न यी उपाय आवश्यक रहेको बताएको छ । आगामी वर्ष देशको बजेट घाटा कुल गार्हस्थ उत्पादन (जीडीपी) को ९.४ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

    यसअघि आधारभूत खाद्यवस्तुमा कर बढाउने विवादास्पद प्रस्ताव पनि व्यापक आलोचनापछि राष्ट्रपतिले फिर्ता लिइसकेका छन् ।

    प्रदर्शनलाई समर्थन गरेका पूर्वराष्ट्रपति गुस्ताभो पेट्रोले नागरिकको पारिवारिक आम्दानीमा असर पार्ने सरकारी नीतिविरुद्ध एकजुट हुन कोलम्बियाली जनतालाई आह्वान गरेका छन् ।

    राष्ट्रपति डे ला एस्प्रिएलाले नागरिकलाई शान्तिपूर्ण प्रदर्शन गर्ने स्वतन्त्रता रहेको बताएका छन् । तर सडक अवरुद्ध गर्ने गतिविधि वा आफूले ‘सहरी आतङ्कवाद’ भनेका गतिविधि सह्य नहुने चेतावनी दिएका छन् ।

    एएफपीका अनुसार अधिकांश प्रदर्शन शान्तिपूर्ण रहे पनि केही स्थानमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच झडप भएको थियो । प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्याँस र पानीको फोहोरा प्रयोग गरेको थियो ।

    अमेरिकी सैन्य कारबाहीलाई लिएर विवाद

    राष्ट्रपतिविरुद्ध प्रदर्शन भइरहेका बेला अमेरिकासँगको सैन्य सहकार्यलाई लिएर पनि विवाद चर्किएको छ ।

    राष्ट्रपति डे ला एस्प्रिएला र अमेरिकी रक्षामन्त्री पिट हेग्सेथले कोलम्बियाको भूमिमा लागुऔषध तस्करी गर्ने समूहविरुद्ध संयुक्त अमेरिकी-कोलम्बियाली सैन्य कारबाही सञ्चालन गर्ने प्रस्ताव बोगोटाले अस्वीकार गरेको भन्ने द न्युयोर्क टाइम्स को समाचारको खण्डन गरेका छन् ।

    अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै बुधबार प्रकाशित समाचारमा राष्ट्रपति डे ला एस्प्रिएलाले संयुक्त सैन्य कारबाहीलाई अनुमति दिन संसद्मा पर्याप्त समर्थन नरहेको जानकारी वासिङ्टनलाई गराएको उल्लेख गरिएको थियो। त्यसपछि अमेरिकी रक्षामन्त्री हेग्सेथले कोलम्बियाको भ्रमण अवधि छोट्ट्याएको समाचारमा जनाइएको थियो ।

    रोयटर्स समाचार संस्थासँग कुरा गर्दै एक अमेरिकी अधिकारीले कोलम्बियाको राजधानी बोगोटामा संसद्को समर्थनलाई लिएर चिन्ता रहेको बताए ।कोलम्बियाली राष्ट्रपतिले उक्त प्रस्ताव पूर्ण रूपमा अस्वीकार गरेको विषय भने उनले पुष्टि गरेनन् ।

    राष्ट्रपति डे ला एस्प्रिएलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कुनै पनि प्रस्ताव अस्वीकार नगरेको बताएका छन् । उनले अमेरिकासँगको सहकार्यको उद्देश्य अमेरिकी सेना कोलम्बियामा तैनाथ गर्नु नभई कोलम्बियाली सेनाको क्षमता अभिवृद्धि गर्नु रहेको स्पष्ट पारे ।

    यस्तो सैन्य तैनाथीका लागि संसद्को स्वीकृति आवश्यक पर्नेमा पनि उनले जोड दिएका छन् ।

    बुधबार बोगोटा भ्रमणका क्रममा अमेरिकी रक्षामन्त्री हेग्सेथले अमेरिकाको नेतृत्वमा सञ्चालित ‘अमेरिकाज काउन्टर कार्टेल कोलिसन’ मा कोलम्बियाको सहभागिताको प्रशंसा गरेका थिए । उक्त पहल सङ्गठित अपराधविरुद्ध क्षेत्रीय सैन्य सहकार्यलाई बलियो बनाउने उद्देश्यले अघि बढाइएको हो ।

    राष्ट्रपति डे ला एस्प्रिएलाले गत अगस्तमा पदभार सम्हालेयता यो दोस्रो देशव्यापी प्रदर्शन हो ।

    यसअघि अक्टोबरमा पनि दशौँ हजार नागरिक सडकमा उत्रिएका थिए । विपक्षी समूहहरूले पूर्वराष्ट्रपति पेट्रोको कार्यकालमा ल्याइएका मानव अधिकार तथा सामाजिक सुधारका उपलब्धि कमजोर पारिएको आरोप लगाउँदै त्यस बेला प्रदर्शन गरेका थिए ।

    –एजेन्सी/बोगाटा

    प्रतिक्रिया दिनुहोस्
    images
    images