images
images
  • मधेस सरकार गठनको समयसीमा सकिँदै, मुख्यमन्त्रीमा जुटेन सहमति

    काठमाडौं– मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समयसीमा आज सकिँदैछ ।

    तर, दलहरूबीच नेतृत्वको विषयमा सहमति जुट्न नसक्दा नयाँ सरकार गठन प्रक्रिया अन्योलमा परेको छ ।

    मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८ (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंसिर ४ गतेसम्मको समय दिएका थिए ।

    तर, प्रमुख दलहरूबीच सहमति नजुटेकाले आजै दाबी पेस हुने सम्भावना न्यून रहेको नेताहरूले बताएका छन् ।

    आवश्यक परे प्रदेश प्रमुखले समय थप गर्न सक्ने निवर्तमानमन्त्री फकिरा महतोले बताएका छन् ।

    १०७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ ।

    प्रदेश सभामा जसपा नेपालका २७, एमालेका २३, कांग्रेसका २२, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् ।

    त्यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।

    जसपा नेपालको नेतृत्वमा एमाले र नेपाली कम्युनिष्ट पार्टीको समर्थन जुटाएर सरकार गठन गर्ने आन्तरिक तयारी भए पनि मुख्यमन्त्री कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन ।

    नेतृत्वका लागि प्रमुख दलहरूबीच प्रतिस्पर्धा देखिएको छ ।

    एमाले नेतृ तथा निवर्तमानमन्त्री शारदादेवी थापाले आफ्नो दलको पनि सरकारको नेतृत्वमा दाबी रहेको बताएकी छन् ।

    यता, जसपाभित्रै पनि मुख्यमन्त्रीको उम्मेदवारबारे एकमत बन्न नसक्दा सरकार गठन प्रक्रिया थप अन्योलमा परेको छ ।

    एमाले र नेपाली कम्युनिष्ट पार्टीले कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले गत कात्तिक २८ गते राजीनामा दिएका थिए ।

    अब मधेसको आगामी नेतृत्व कुन दलले गर्ने र को मुख्यमन्त्री बन्ने भन्ने विषय दलहरूबीचको सहमतिमा निर्भर देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images