images
images
  • आइतबार पौने २ बजे २ मन्त्रीसहित ३४ जनाको भ्रमणदल लिएर प्रधानमन्त्री भारत जाँदै

    मोदीसँगको भेटले खुल्न सक्ला सम्बन्धको नयाँ आयम

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार दुई दिने भारत भ्रमणमा जाने भएका छन् ।

    परराष्ट्र मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै भ्रमणबारे औपचारिक जानकारी गराएको छ ।

    परराष्ट्रसचिव अमृत राईले प्रधानमन्त्रीको भ्रमण दलमा ३४ जना सदस्य रहने छन् ।

    अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल पनि प्रधानमन्त्रीसँग भारत जाने कार्यक्रम तय भएको छ ।

    प्रधानमन्त्री शाहको टोली आइतबार १ः४५ बजेको नेपाल वायु सेवा निगमको नियमित उडानबाट प्रस्थान गर्ने भएका छन् ।

    उनी सोमबार स्वादेश फर्केने छन् ।

    प्रधानमन्त्री शाहको भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धमा नयाँ राजनीतिक अध्यायको सुरुवातका रूपमा हेरिएको छ ।

    परम्परागत राजनीतिक शैलीभन्दा फरक पहिचान बनाएका शाहले पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित भारतको उच्च राजनीतिक नेतृत्वसँग प्रत्यक्ष सम्वाद गर्न लागेकाले उनको दिल्ली भ्रमणलाई कूटनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको हो ।

    युवाहरूको विद्रोहपछि भएको निर्वाचनमार्फत सत्ताको नेतृत्वमा पुगेका शाहलाई नेपाल र भारत दुवैतर्फका कतिपय विज्ञले गैरपरम्परागत राजनीतिज्ञका रूपमा विश्लेषण गर्दै आएका छन् ।

    त्यसैले उनको पहिलो भारत भ्रमण केवल औपचारिक कूटनीतिक भेटघाटमा सीमित हुन्छ वा दुई देशबीचको सम्बन्धलाई नयाँ दिशामा अघि बढाउने अवसर बन्छ भन्ने चासो बढेको छ ।

    भारतको नयाँ दिल्लीस्थित अब्जर्भर रिसर्च फाउन्डेसनका उपाध्यक्ष हर्ष भी पन्तले शाहको भ्रमणलाई नेपाल–भारत सम्बन्धको महत्त्वपूर्ण मोडका रूपमा व्याख्या गरेका छन् ।

    उनका अनुसार बालेन शाह नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने नेता हुन् ।

    बलियो जनमतसहित सरकारमा पुगेका उनले राष्ट्रिय सार्वभौमसत्ता र आर्थिक विकासका विषयमा परिणाममुखी काम गर्न चाहेको सन्देश दिएका छन् ।

    यस्तो अवस्थामा भारतसँगको सम्बन्धलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्न सके दुवै देशका लागि नयाँ अवसर सिर्जना हुन सक्ने पन्तको विश्लेषण छ ।

    पन्तले भारतका लागि पनि शाहको नेतृत्वसँग सम्बन्ध विस्तार गर्नु नयाँ अनुभव हुने बताएका छन् ।

    परम्परागत राजनीतिक तथा कूटनीतिक शैलीभन्दा फरक प्रस्तुति दिइरहेका शाहलाई भारतले नजिकबाट बुझ्नुपर्ने उनको भनाइ छ ।

    उनका अनुसार नेपालको सार्वभौमसत्तामा सम्झौता नगरी राष्ट्रवादी राजनीतिक जनमतलाई भारतसँगको फलदायी सम्बन्ध निर्माणमा उपयोग गर्न सक्नु शाह सरकारको मुख्य चुनौती हुने छ ।

    सीमा विवादलगायतका विषय दीर्घकालीन प्रकृतिका भएकाले तत्काल सबै समस्या समाधान हुने अपेक्षा गर्नुभन्दा व्यावहारिक सहकार्यका क्षेत्र पहिचान गर्नु उपयुक्त हुने उनको धारणा छ ।

    उनका अनुसार भारतका लागि शाहको यो भ्रमण उनको राजनीतिक र विदेश नीतिको वास्तविक प्राथमिकता बुझ्ने अवसरसमेत हुनेछ ।

    शाहले भारतसँग कस्तो सम्बन्ध चाहेका छन् र नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राख्दै सहकार्य कसरी अघि बढाउन खोजेका छन् भन्ने कुरा भ्रमणका क्रममा स्पष्ट हुन सक्नेछ ।

    मोदी–बालेन केमिस्ट्रीले बदल्न सक्छ सम्बन्धको दिशा ?

    नेपालका लागि पूर्वभारतीय राजदूत मञ्जीवसिंह पुरीले दुई देशका प्रधानमन्त्रीबीच पहिलोपटक हुन लागेको प्रत्यक्ष भेटवार्तालाई अत्यन्त महत्वपूर्ण मानेका छन् ।

    उनका अनुसार दुई देशबीच राष्ट्रियहित र कूटनीतिक प्राथमिकता महत्त्वपूर्ण भए पनि नेतृत्व तहको व्यक्तिगत सम्बन्ध र आपसी समझदारीले पनि द्विपक्षीय सम्बन्धलाई प्रभाव पार्छ ।

    पुरीले भारत नेपालसँग सधैँ बलियो सम्बन्ध र सहकार्यको पक्षमा रहेको उल्लेख गर्दै नेतृत्व तहमा आपसी सम्मान र विश्वास कायम हुनु आवश्यक रहेको बताएका छन् ।

    उनका अनुसार नेपालमा नयाँ नेतृत्व आएको छ र उसले भारतलाई महत्व दिएर सम्बन्ध अघि बढाउन खोजेको छ ।

    भारतले पनि त्यहीअनुसार महत्व दिएर सहकार्य गर्न सके दुई देशबीच नयाँ राजनीतिक केमिस्ट्री निर्माण हुन सक्छ ।

    पुरीले बालेन शाह भारतमा अध्ययन गरेको र बसेको प्रसङ्ग उल्लेख गर्दै उनलाई भारतबारे राम्रो जानकारी रहेको बताएका छन् ।

    अब उनले भारतसँगको सम्बन्धमा आफ्नो राजनीतिक र कूटनीतिक समझदारी प्रस्तुत गर्ने अवसर पाउने उनको भनाइ छ ।

    यद्यपि, प्रधानमन्त्री मोदी र शाहबीच उमेर तथा राजनीतिक अनुभवको ठूलो अन्तर रहेकाले आपसी विश्वास निर्माण गर्नु सहज नहुन सक्ने मेहताको टिप्पणी छ ।

    दुवै नेताले एकअर्काको प्राथमिकता र संवेदनशीलता बुझ्न सके मात्रै सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन सकिने उनको भनाइ छ ।

    सहयोग, पुनर्निर्माण र सीमा विवाद मुख्य चासो

    शाहको भारत भ्रमणलाई राजनीतिक सम्बन्ध सुधारसँगै आर्थिक तथा विकास साझेदारीका दृष्टिले पनि महत्त्वपूर्ण मानिएको छ ।

    गत चैतमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका शाहले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि नेपालको अवस्था अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्न संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिता जनाएका थिए ।

    त्यसपछि भारतलाई आफ्नो पहिलो द्विपक्षीय विदेश भ्रमणको गन्तव्य बनाउन लागेका हुन् ।

    गत अगस्टमा आएको बाढीपछि भारतले उपलब्ध गराएको सहयोगप्रति नेपाली अधिकारीहरूले प्रशंसा गर्दै आएका छन् ।

    त्यसैले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा भारतीय सहयोग विस्तार गर्ने विषय पनि भ्रमणको महत्वपूर्ण एजेन्डा बन्न सक्ने अपेक्षा गरिएको छ ।

    यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमण गरिसकेका छन् ।

    प्रधानमन्त्री शाहले भने सत्ता सम्हालेपछि कूटनीतिक भेटघाटमा अपनाएको सीमित शैलीमा केही परिवर्तन गर्दै भारतीय नेतृत्वसँग प्रत्यक्ष संवादको तयारी गरेका छन् ।

    यसअघि भारतीय विदेश सचिवको काठमाडौं भ्रमणसमेत प्रधानमन्त्रीसँग भेटघाटको समय नमिलेका कारण प्रभावित भएको विवरण सार्वजनिक भएका थिए ।

    तर दुई साताअघि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिस्रीसँग शाहले आफ्नो सम्भावित दिल्ली भ्रमणलगायतका विषयमा छलफल गरेका थिए ।

    नेपाल–भारत सम्बन्ध पछिल्ला वर्षहरूमा सीमा विवाद, राजनीतिक अविश्वास र कूटनीतिक उतारचढावका कारण पटक–पटक तनावपूर्ण बनेको छ ।

    नयाँ राजनीतिक शक्तिको उदयसँगै नेपालमा भारतप्रतिको परम्परागत राजनीतिक भाष्यमा परिवर्तन आएको विश्लेषणसमेत हुन थालेको छ ।

    यस्तो अवस्थामा बालेन शाहको दिल्ली भ्रमणले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक सद्भावमा सीमित राख्छ वा आर्थिक विकास, पूर्वाधार, व्यापार, पारवहन र सीमा व्यवस्थापनमा ठोस सहकार्यको आधार तयार गर्छ भन्ने प्रश्न महत्त्वपूर्ण बनेको छ ।

    अन्ततः मोदी र बालेनबीचको पहिलो भेटवार्ताको सफलता व्यक्तिगत केमिस्ट्रीमा मात्र निर्भर रहने छैन ।

    नेपालको राष्ट्रिय स्वार्थ, भारतको छिमेक नीति र दुवै देशले प्रस्तुत गर्ने व्यावहारिक प्रतिबद्धताले नै आगामी सम्बन्धको दिशा निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images