images
images
  • बाढीले उजाडियो वेत्रावती, बगरमा फेरि हरियाली फर्काउने आश

    काठमाडौं – नुवाकोट र रसुवाको सिमानामा पर्ने वेत्रावती कुनै समय धानका बाला झुल्ने र तोरी फुलेर पहेँलपुर हुने उर्वर भूमि थियो । माघेसङ्क्रान्तिमा हुने परम्परागत गोरु जुधाउने मेलाले यहाँको रौनक थप्थ्यो । तर गत भदौमा आएको विनाशकारी बाढीले वेत्रावतीको परिचय नै बदलिदिएको छ । हराभरा खेत अहिले ढुङ्गा, बालुवा र गेग्रानले भरिएका बगरमा परिणत भएका छन् ।

    नुवाकोटको विदुर नगरपालिका र रसुवाको उत्तरगया गाउँपालिकामा फैलिएका सातबिसे र सतरे फाँट स्थानीयको जीविकोपार्जन र पहिचानका आधार थिए । यहाँ वर्षमा दुई बाली धान उत्पादन हुन्थ्यो । कात्तिकदेखि मङ्सिरसम्म धान काट्ने, दाइँ हाल्ने र भित्र्याउने चटारो हुन्थ्यो । धान भित्र्याएपछि छरिने तोरीले फाँट पहेँलपुर बन्थ्यो । त्यही फाँटमा लाग्ने गोरु जुधाउने मेलाले वेत्रावतीलाई थप चिनाएको थियो ।

    स्थानीय उत्पादनमा आधारित यहाँको आतिथ्य व्यवसाय पनि फस्टाएको थियो । आफ्नै खेतको बास्नादार चामल र बारीको तोरीको तेलमा पकाइएका परिकार खुवाउने करिब एक दर्जन होटल सञ्चालनमा थिए । तर बाढीले खेतबारीसँगै होटल, व्यवसाय र स्थानीयको आम्दानीको आधारसमेत बगायो ।

    बाढीको सबैभन्दा पीडादायी प्रहार स्थानीय राजेन्द्रकुमार डङ्गोलको परिवारमा पर्‍यो । त्रिशूली नदीबाट करिब पाँच सय मिटर टाढा रहेको उनको घरलाई सुरक्षित मानिएको थियो । तर बाढीको भेल फलाँखु खोलातर्फ उर्लिएपछि उनले परिवारका १० जना सदस्य गुमाए । विद्यालय बसचालक रहेका राजेन्द्र त्यसबेला बालबालिका लिन उत्तरगयातर्फ गएकाले बाँच्न सफल भए । तर उनको परिवार र संसार नै उजाडियो ।

    एक वर्षअघि यही समयमा सातबिसे फाँटमा धान झारेर परालको कुन्यु लगाएको सम्झना उनलाई अझै ताजा छ । “दैवले हाम्रो सर्वस्व नखोसेको भए यतिबेला हामी तोरी छरिरहेका हुनेथियौँ,” उनी भक्कानिँदै भन्छन् । अहिले आफन्तका घरमा आश्रय लिइरहेका उनी दिनमा एकपटक वेत्रावती पुग्छन् र आफ्नो घर रहेको भग्नावशेष नियाल्छन् । परिवार गुमाए पनि उनलाई आफ्नो थातथलो छाडेर अन्यत्र जाने मन छैन । बरु त्यहीँ फर्किएर फेरि घर बनाउने र खेती गर्ने चाहना छ ।

    रसुवाको उत्तरगया–५ का सुमन रानामगरले पनि बाढीमा परिवार, आफन्त र पुख्र्यौली खेत गुमाएका छन् । “मुरीका मुरी धान फल्ने, तोरीले पहेँलो हुने र गोरु जुधाउन प्रख्यात सातबिसे र सतरे फाँट आज नामनिसान मेटिने अवस्थामा पुगेका छन्,” उनी भन्छन् । वेत्रावती ससुराली भएका कपिल पाण्डे पनि पहिलेको हरियाली र चहलपहल हराएर खण्डहर बनेको गाउँ देख्दा दुःखी छन् ।

    यति ठूलो विनाशका बाबजुद स्थानीयले पुनःस्थापनाको आशा मारेका छैनन् । कोही पुरिएका घरका भग्नावशेष पन्छाएर होटल सञ्चालन गर्ने तयारीमा छन् भने कोही जोखिम क्षेत्रभन्दा माथि सुरक्षित स्थानमा व्यापार व्यवसाय सुरु गर्ने योजना बनाउँदै छन् । बाढीबाट ३५ करोड रुपैयाँभन्दा बढीको क्षति बेहोरेका दिनेश अधिकारी किराना पसल सञ्चालन गरेर फेरि जीविकोपार्जन सुरु गर्ने तयारीमा छन् । सरकारले पूर्वाधार निर्माण र त्रिशूली नदीको गहिराइ तथा बहाव व्यवस्थापनमा पहल गरे वेत्रावतीमा फेरि खेतीपाती र व्यवसाय फस्टाउने उनको आशा छ ।

    जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरीले बाढीपछि पहिलो चरणमा राहत र उद्धारलाई प्राथमिकता दिइएको र अब पुनर्निर्माण तथा जीविकोपार्जनमा केन्द्रित हुने बताएको छ । प्रभावित नागरिकलाई पुरानै अवस्थामा फर्काउन मनोसामाजिक परामर्श, पुनर्निर्माण र अन्य आवश्यक काममा सरकारी तथा गैरसरकारी निकायबीच समन्वय भइरहेको उनको भनाइ छ।

    कुनै समय धानका बाला झुल्ने र तोरीका फूलले पहेँलपुर हुने वेत्रावती अहिले बगरमा सीमित छ । तर स्थानीयको मनमा आफ्नो थातथलो फेरि हराभरा बनाउने सपना जीवितै छ । उनीहरूका लागि वेत्रावती केवल बसोबास गर्ने ठाउँ होइन, पुस्तौँदेखि जोडिएको माटो, सम्झना र पहिचान हो । त्यसैले उनीहरू उजाडिएको त्यही भूमिमा फेरि नयाँ जीवन सुरु गर्ने प्रतीक्षामा छन् । –गोर्खापत्र

    प्रतिक्रिया दिनुहोस्
    images
    images