images
images
  • चर्चामा गायिका सेडको गीत र पहिरन, १६ वर्षपछि पनि उस्तै प्रभाव

    काठमाडौं– विश्वमै सबैभन्दा कम सार्वजनिक हुने कलाकारमध्ये सेड अडु एक हुन् । पछिल्लो समय टिकटकमा पनि सक्रिय उनका असङ्ख्य गीतहरू हिट भएका छन् । यसकारण उनको चर्चा सबैतिर छ ।

    बेलायती–नाइजेरियाली गायिका तथा सङ्गीतकर्मी अडुको कलात्मक प्रतिभाको लामो समयदेखि प्रशंसा हुँदै आएको छ । अहिलेसम्म ५ करोडभन्दा बढी एल्बम बिक्री गरिसकेकी गायिका र उनको ब्यान्डलाई यही सप्ताहान्तमा ‘रक एन्ड रोल हल अफ फेम’ मा समावेश गरिँदैछ ।

    यो अवसर उनको अत्यधिक प्रशंसित पहिरन शैलीबारे पुनः चर्चा गर्ने उपयुक्त समय पनि हो । उत्कृष्ट कला र सहज शैलीकी उनको फ्यान हरेक दिन बढेको बढ्यै छन् ।

    सन् १९७९ मा लन्डनस्थित सेन्ट्रल सेन्ट मार्टिन्सबाट फेसन डिजाइनमा स्नातक गरेकी सेड सन् १९८० को दशकमा सङ्गीतमा लाग्ने क्रममा पनि यस ज्ञानलाई प्राथमिकतामा राखेकी थिइन् । पुरुषका पहिरन डिजाइन गर्ने पृष्ठभूमिका कारण पहिरनको बनावट, आकार र सिल्हुटप्रति उनको विशेष ध्यान थियो ।

    सन् १९८२ मा आफ्ना ब्यान्डका सदस्यहरूसँग साङ्गीतिक यात्रा सुरु गरेदेखि नै सेडले आफूले हासिल गरेको डिजाइनसम्बन्धी ज्ञानलाई मञ्च भित्र र बाहिर लगाउने पहिरनमा प्रयोग गर्दै आएकी छन् ।

    sade adu 2

    पछाडिको भाग खुला भएका बडी सुटसँग अत्यन्तै राम्रोसँग सिलाइएका ट्राउजर, नाभीको भागसम्म गाँठो पारेर बाँधिएका सफा र आकर्षक सर्ट तथा छोटा बोलोरो ज्याकेट उनका पहिरनका विशेषता हुन् । उनका सुनौला, ठुला गोलाकार झुम्का र साटन जस्तो चमक भएको रातो लिपस्टिक लगभग अनिवार्य जस्तै थिए ।

    दशकौंदेखि सेडलाई न्यूनतमवादी फेसन शैलीकी एक आदर्श व्यक्तित्वका रूपमा हेरिँदै आएको छ । उनको पहिरन शैलीलाई ‘क्वाइट लक्जरी’ वा ‘क्लिन गर्ल’ फेसन भनेर मात्र सीमित गर्नु उनको शैली पछाडिको मौलिकता र सचेत सोचप्रति अन्याय गर्नु हो । सेड फेसनलाई मन पराउँथिन् । तर फेसन उद्योगमा बेलाबखत देखिने अत्यधिक तडकभडक र अनावश्यक देखावटीपनलाई भने अस्वीकार गर्थिन् ।

    सन् १९८८ मा आफ्नो कभर स्टोरीका लागि ‘इन्टरभ्यु’ म्यागेजिनलाई दिएको अन्तर्वार्तामा सेडले भनेकी थिइन्, ‘साँच्चै भन्नुपर्दा मलाई फेसन उद्योग खासै मन पर्दैन । यो जसरी चल्छ, त्यसको कार्यशैली र खरिदकर्ताहरूको हातमा अत्यधिक शक्ति हुनु मलाई मन पर्दैन । यस साता कसलाई विशेष महत्त्व दिने भन्ने कुरा उनीहरूले नै तय गर्छन् । मलाई लाग्छ, फेसन उद्योग सङ्गीत व्यवसायभन्दा पनि बढी प्रतिस्पर्धात्मक र निर्मम छ । मलाई यसको शैली अलि अप्रिय लाग्छ र म कहिल्यै यसको हिस्सा बनिनँ । मलाई ‘फेसन’ मन पर्दैन । तर ‘लुगा’ भने मन पर्छ ।’

    फेसनको दुनियाँलाई आत्मसात् गर्न अनिच्छुक भए पनि सेडको प्रभाव भने त्यसको सीमाभन्दा धेरै टाढासम्म फैलिएको छ । सङ्गीत पत्रकार तथा लेखिका क्लोभर होपले सेडको व्यक्तित्वलाई ‘सहजै अपनाउन सकिने, तर उत्तिकै प्रेरणादायी’ भनेर वर्णन गरेकी छन् ।

    सेडले सधैं मञ्चमा देखिने आकर्षक ग्ल्यामर र सडकमा लगाइने सामान्य पहिरनको सहजतालाई स्वाभाविक रूपमा एकसाथ प्रस्तुत गर्न सकिन् । त्यति बेला ‘स्ट्रीटवेयर’ भन्ने शब्दसमेत अहिलेको जस्तो प्रचलित थिएन ।

    sade adu 4

    उनी चमकदार क्रिस्टल जडित स्कर्ट र टप लगाएर जति सहजै दर्शकलाई मन्त्रमुग्ध पार्न सक्थिन्, त्यति नै सहज रूपमा बुनेको स्वेटर र लोफर जुत्तामा पनि आकर्षक देखिन्थिन् ।

    फेसन पत्रकार शेल्टन बोयड ग्रिफिथकै विचारमा सेडले फेसन र विशेषगरी पुरुष पहिरनको अध्ययन गरेकाले फेसनलाई पुरुषत्व र नारीत्व मिसाउने माध्यमका रूपमा प्रयोग गर्न राम्रोसँग बुझेकी थिइन् ।

    सेडको ‘टर्न माइ ब्याक अन यू’ आफ्नो मनपर्ने म्युजिक भिडियो बताउने बोयडले सो गीतमा सेड र उनका ब्यान्डका सदस्यहरू टाईसहितका औपचारिक सुटमा देखिँदा मन नै छोएको बताए ।

    विगतका दशकमा लोकप्रिय संस्कृतिमा ठुलो योगदान दिएका धेरै अश्वेत कलाकारहरू प्रायः ओझेलमा परेका छन् । तर सेडको प्रभाव भने यसको ठीक विपरीत छ । कुनै विशेष प्रयास नगरी पनि उनको पहिरन र सङ्गीत शैलीको लोकप्रियता निरन्तर बढिरहेको छ । सामाजिक सञ्जालका एल्गोरिदम र पिन्टरेस्ट जस्ता प्लेटफर्ममार्फत उनको शैलीले नयाँ पुस्तामाझ पुनः लोकप्रियता हासिल गरिरहेको छ ।

    पिन्टरेस्टका अनुसार पछिल्लो १२ महिनामा सेडसँग सम्बन्धित केही खोज शब्दहरूमा अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको छ । ‘सेड आउटफिट्स’ खोजीमा ७७ प्रतिशत, ‘सेड एडु हेयरस्टाइल’ मा २९ प्रतिशत, ‘सेड मेकअप’ मा १५ प्रतिशत र ‘स्लिक्ड ब्याक हेयर रेफरेन्स’ मा २१७ प्रतिशत वृद्धि भएको छ ।

    उनको सङ्गीतको लोकप्रियता पनि उत्तिकै कायम छ । स्पोटिफाइमा सेड ब्यान्डका मासिक स्रोताको सङ्ख्या २ करोड ८० लाख पुगेको छ । उक्त स्ट्रिमिङ सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार सेडको सङ्गीत पहिलो पटक पत्ता लगाउने विश्वव्यापी स्रोतामध्ये ६० प्रतिशतभन्दा बढी हिस्सा जेनजेड पुस्ताको छ । तीमध्ये अधिकांशले पहिलो पटक उनको सङ्गीत सुनिरहेका छन् ।

    पहिलो नजरमा सेडको पहिरन शैली अपनाउन निकै सजिलो देखिन सक्छ । तर उनको आकर्षण केवल उनले लगाउने लुगामा मात्र सीमित छैन । उनले प्रस्तुत गर्ने समग्र व्यक्तित्व र आभामै उनको वास्तविक जादु लुकेको छ ।

    sade adu 1

    उनको शैलीको मूल आधार एउटै प्रकारको पहिरनलाई विभिन्न तरिकाले अपनाउनु हो । अहिले हामीले सेलिन र क्यालमेयर जस्ता फेसन ब्रान्डका पहिरनमा पनि यस्तो शैली देखिरहेका छौँ । उनको डेनिम पहिरन वा साधारण सेतो टी-सर्टसँग रातो लिपस्टिक लगाउने शैली सतहमा हेर्दा सजिलै नक्कल गर्न सकिने देखिन्छ ।

    सेडको पहिरन शैलीलाई चिनाउने केही आधारभूत विशेषताहरू छन् । उनका पहिरनहरू सामान्यतया शालीन हुन्थे । तर त्यसमा कम्तीमा एउटा विशेष आकर्षक पक्ष अवश्य हुन्थ्यो । त्यो रङको चमक हुन सक्थ्यो, सजावटी विवरण हुन सक्थ्यो वा छालाका पञ्जा जस्तो अप्रत्याशित सहायक सामग्री हुन सक्थ्यो ।

    कहिलेकाहीँ उनी क्लासिक डिजाइनको पहिरन लगाउँथिन् । उनका पहिरनहरू मञ्चमा असहज देखिँदैनथे । ती आकर्षक हुनुका साथै व्यावहारिक पनि हुन्थे । ब्यान्डको पछिल्लो पूर्ण एल्बम सार्वजनिक भएको १६ वर्ष बितिसकेको भए पनि साङ्गीतिक रूपमा सेडले अहिले पनि धेरै कलाकारलाई प्रेरित गरिरहेकी छन्। आर एन्ड बी गायिका स्नोह आलेग्रा र एसजेडएदेखि ड्रेक र बियोन्सेसम्म उनको प्रभाव देख्न सकिन्छ ।

    बियोन्सेले सन् २०२१ मा हालका वर्षहरूमा आफूले सञ्चारमाध्यमलाई कम अन्तर्वार्ता दिन थालेको कारणमध्ये सेडलाई पनि एक मानेकी थिइन् । त्यस्तै उनको पहिरन शैलीको विरासत र आफ्नै व्यक्तित्वप्रतिको दृढ विश्वास आजका फेसन आइकन ट्रेसी एलिस रस र सोलान्ज जस्ता कलाकारहरूमा पनि देख्न सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images