काठमाडौं – गाजा, हमासले दक्षिणी गाजाको खान युनिसस्थित अल–मवासी क्षेत्रमा इजरायली हवाई आक्रमणमा रफाह ब्रिगेडका कमान्डर समीर अबु युनिस मारिएको पुष्टि गरेको छ । यसअघि इजरायली सेना र आन्तरिक सुरक्षा निकाय शिन बेटले शनिवार खान युनिसमा ड्रोन आक्रमण गरी हमासका एक वरिष्ठ सैन्य कमान्डरलाई निशाना बनाएको संयुक्त विज्ञप्तिमार्फत जनाएका थिए ।
विस्थापित मानिसहरू आश्रय लिएर बसेको एउटा पाललाई लक्षित गरी गरिएको उक्त आक्रमणमा अन्य दुई जना घाइते भएका छन् । शनिवार चिकित्सा कर्मचारीहरूले अल जजिरालाई बताएअनुसार घाइते तथा मृतकहरूलाई खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा लगिएको थियो ।
अल जजिराले प्रमाणित गरेको र अस्पताल आसपासबाट प्यालेस्टिनी पत्रकारहरूले सार्वजनिक गरेको भिडियोमा अस्पताल परिसरभित्र एम्बुलेन्सहरू देखिएका छन् । साथै, रगतले दाग लागेको जस्तो देखिने स्ट्रेचरहरू पनि भिडियोमा देखिन्छन् ।
भूमध्य सागरको तटीय क्षेत्रमा रहेको अल–मवासीमा पाल टाँगेर बसिरहेका विस्थापित प्यालेस्टिनीहरूको ठुलो भीड छ । इजरायलले यस क्षेत्रलाई यसअघि मानवीय सहायता क्षेत्र घोषणा गरेको भए पनि पटक–पटक आक्रमण गर्दै आएको छ । गाजाको स्वास्थ्य मन्त्रालयले शनिवार सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, पछिल्लो ४८ घण्टामा इजरायली आक्रमणमा १६ जनाको मृत्यु भएको छ भने अन्य ६८ जना घाइते भएका छन् ।
गाजामा सन् २०२५ अक्टोबर ११ देखि ‘युद्ध विराम’ लागू भएयता इजरायलले कम्तीमा १ हजार ६४३ प्यालेस्टिनीको हत्या गरेको छ भने ५ हजार ९६४ जना घाइते भएका छन्। भग्नावशेषमुनिबाट कम्तीमा ८५० जनाको शव निकालिएको छ ।
सन् २०२३ अक्टोबरमा इजरायलले गाजामा नरसंहारपूर्ण युद्ध सुरु गरेयता कम्तीमा ७४ हजार ६९५ जनाको मृत्यु भएको र १ लाख ७६ हजार ९३ जना घाइते भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, हाइपोथर्मिया अर्थात् शरीरको तापक्रम अत्यधिक घटेका कारण नौ महिनाको एक शिशुको मृत्यु भएपछि चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ पुगेको छ । यस वर्षको जाडो याममा चिसोका कारण भएको यो पहिलो मृत्यु हो ।
गाजाका अधिकांश बासिन्दा विस्थापित भएका छन् । उनीहरू पाल तथा क्षतिग्रस्त भवनहरूमा बस्न बाध्य छन्। पछिल्लो समय परेको भारी वर्षाका कारण उनीहरूका आश्रय स्थलमा पानी पसेर थप समस्या उत्पन्न भएको छ।
अक्टोबरमा युद्ध विराम लागू भए पनि गाजाभर इजरायली आक्रमण थप तीव्र बनेका छन्।






















