images
images
  • ट्रम्पको समर्थन पाएका रामास्वामी ओहायोको गभर्नर निर्वाचनमा पराजित

    काठमाडौं – भारतीय मूलका रिपब्लिकन नेता विवेक रामास्वामी अमेरिकाको ओहायो राज्यको गभर्नर निर्वाचनमा डेमोक्र्याट उम्मेदवार एमी एक्टनसँग पराजित भएका छन् । यस जितसँगै एक्टन ओहायोको गभर्नर पदमा निर्वाचित हुने पहिलो महिला बनेकी छन् भने २० वर्षपछि यस पदमा डेमोक्र्याट उम्मेदवारको पुनरागमन भएको छ ।

    नोभेम्बर ३ मा भएको निर्वाचनमा पूर्वजनस्वास्थ्य अधिकारी एक्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन पाएका रामास्वामीलाई पराजित गरेकी हुन् । निर्वाचनको नतिजाले पछिल्ला वर्षमा रिपब्लिकनतर्फ ढल्किएको ओहायोको राजनीतिमा डेमोक्र्याटहरूको प्रभाव पुनः बढेको सङ्केत गरेको छ ।

    रामास्वामीको चुनावी अभियान अन्तिम समयमा विवादमा परेको थियो । उनको अभियानले एक्टनकी अलग्गिएकी आमालाई समेटेर आलोचनात्मक विज्ञापन सार्वजनिक गरेको थियो । विज्ञापनमा एक्टनकी आमाले उनलाई झूट बोलेको र नेतृत्वका लागि अयोग्य रहेको आरोप लगाएकी थिइन् ।

    एक्टनकी आमाले दशकौँअघि उनका सौतेनी बुबामाथि बाल्यकालमा यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सन्तानको हेरचाहसम्बन्धी अधिकार गुमाएकी थिइन् । उक्त पारिवारिक घटनालाई चुनावी प्रचारमा प्रयोग गरिएको भन्दै दुवै दलका नेताहरूले विज्ञापनको आलोचना गरेका थिए । राष्ट्रपति ट्रम्पले भने विज्ञापनको प्रशंसा गरेका थिए भने उपराष्ट्रपति जेडी भान्सले रामास्वामीको अभियानको बचाउ गरेका थिए ।

    रामास्वामीको चुनावी अभियानमा ठूलो रकम खर्च भएको थियो । एक्टनविरुद्धको अभियानमा एक सय मिलियन डलरभन्दा बढी खर्च भएको विवरण सार्वजनिक भएको छ । अर्बपति इलोन मस्कले पनि रामास्वामीसँग सम्बन्धित राजनीतिक कार्य समितिलाई कम्तीमा पाँच मिलियन डलर सहयोग गरेको बताइएको छ । तर ठूलो आर्थिक स्रोत, ट्रम्पको समर्थन र रिपब्लिकन नेताहरूको साथ हुँदाहुँदै पनि रामास्वामीले चुनाव जित्न सकेनन् ।

    चिकित्सक तथा जनस्वास्थ्य विज्ञ एक्टनले चुनावी अभियानमा स्वास्थ्य सेवाको पहुँच र त्यसको खर्च घटाउने विषयलाई प्राथमिकता दिएकी थिइन् । कोभिड–१९ महामारीका बेला ओहायोको स्वास्थ्य विभागको नेतृत्व गरेकी उनले राज्यको स्वास्थ्य नीतिमा आफ्नो अनुभवलाई चुनावी मुद्दासँग जोडिन् ।

    उनले आफ्नो बाल्यकालको कठिन अवस्थालाई पनि मतदातामाझ प्रस्तुत गरेकी थिइन् । बाल्यकालमा केही समय घरबारविहीन भएर बिताएको र एक हिउँद पालमुनि बस्नुपरेको अनुभव सुनाउँदै उनले श्रमिक तथा मध्यमवर्गीय परिवारका समस्या सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी थिइन् ।

    मतदान हुनुभन्दा केही घण्टाअघि रामास्वामीले सम्पत्ति कर घटाउने, बिजुलीको महसुल कम गर्ने, किफायती आवासको व्यवस्था गर्ने र सडक सुरक्षा सुधार्ने प्रतिबद्धता दोहोर्‍याएका थिए । उनले आफू निर्वाचित भएमा यी प्रतिबद्धता पूरा गरे–नगरेको विषयमा जवाफदेही बनाउन मतदातालाई आग्रह गरेका थिए ।

    कार्यकालको सीमा पूरा भएकाले रिपब्लिकन गभर्नर माइक डिवाइन पुनः उम्मेदवार बन्न पाएका थिएनन् । अब एक्टनले उनको स्थान लिनेछिन् । यसअघि कुनै निर्वाचित पदमा नरहेकी एक्टनले ओहायोको कार्यकारी नेतृत्व सम्हाल्नेछिन् ।

    ओहायो कुनै समय अमेरिकी राष्ट्रपतीय निर्वाचनमा दुवै दलबीच कडा प्रतिस्पर्धा हुने निर्णायक राज्यका रूपमा चिनिन्थ्यो। पछिल्ला निर्वाचनमा भने यहाँ रिपब्लिकनहरूको प्रभाव बढ्दै गएको थियो । सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा ट्रम्पले ओहायोमा उल्लेख्य मतान्तरले जितेका थिए । यस्तो अवस्थामा एक्टनको जितलाई डेमोक्र्याटहरूका लागि ठूलो राजनीतिक उपलब्धिका रूपमा हेरिएको छ ।

    रामास्वामी सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन पार्टीको उम्मेदवारीका आकांक्षी थिए । त्यसबेला उनले ट्रम्पसँगै पार्टीको उम्मेदवारीका लागि प्रतिस्पर्धा गरेका थिए । पछि उनले आफ्नो अभियान स्थगित गर्दै ट्रम्पलाई समर्थन गरेका थिए । ओहायोको गभर्नर निर्वाचनमा भएको पराजय उनको राजनीतिक यात्राको अर्को ठूलो धक्का बनेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images