काठमाडौं- अमेरिकाको मध्यावधि निर्वाचनमा डेमोक्रेटहरुले सफलता पाएका छन् । डेमोक्रेटले पाएको यस सफलताले अमेरिकी नागरिक इरान युद्धको विरुद्धमा रहेको प्रस्ट भएको छ । त्यसो त यस निर्वाचनमा डेमोक्रेटले सफलता पाउने सर्वेक्षण नभएका होइनन् । तर विगतका धेरै निर्वाचनमा डेमोक्रेटले सर्वेक्षणमा पाएको जस्तो सफलता नपाएको तीतो यथार्थ पनि छ ।
यस पटक भने त्यसो भएन । डेमोक्रेटको जीत स्वाभाविक बन्न पुग्यो । अन्य केही यस्ता परिणाम आए, जसले अमेरिकामा अझै बाँकी रहेको समानताको मुद्दालाई पूर्ण रूपले सम्बोधन गरेको छ ।
अब्दुल अल सायद अमेरिकाको पहिलो मुस्लिम सिनेटर बने । मिचिगनका डेमोक्रेट उम्मेदवार उनले रिपब्लिकन उम्मेदवार माइक रोजर्सलाई हराए । केइसा लान्स बटन पहिलो निर्वाचित अश्वेत महिला गभर्नर भइन् । जर्जियामा निर्वाचित उनले रिपब्लिककी रिक ज्याक्सनलाई हराएकी हुन् ।
न्यु हाम्पसायरका कृश पापास निर्वाचित पहिलो गे सिनेटर भए । डेब हलान्ड पहिलो नेटिभ अमेरिकी निर्वाचित महिला गभर्नर भइन् । न्यु मेक्सिकोमा उनले सफलता पाएकी हुन् ।
अमेरिकाको अर्को महत्त्वपूर्ण विषय के हो भने कुनै स्थानमा मेयरको निर्वाचनमा एउटै दलमा रहेकाहरूको पनि प्रतिस्पर्धा छ । लस एन्जलस मेयर पदमा दुई कारेन बास र निथ्या रमन प्रतिस्पर्धामा छन् । यी दुवै डेमोक्रेट उम्मेदवार हुन् । रमन भने समाजवादी डेमोक्रेटको रूपमा परिचित छन् ।
डेमोक्रेटको पक्षमा बदलिएको इतिहास
निर्वाचनको समयमा केही स्थानमा डेमोक्रेटले सानदार सफलता हात पारेको छ । सन् १९३० पछि कानासमा डेमोक्रेटले पहिलो पटक सिनेट सदस्यमा जीत हात पारेको छ । दक्षिणी क्यारोलिनमा पनि सन् १९६० को दशकपछि पहिलो पटक डेमोक्रेटले सफलता पाएको हो । सन् १९९० को दशकपछि पहिलो पटक टेक्ससमा डेमोक्रेटले सफलताको झन्डा गाडेको छ ।
केही मूल सहरभन्दा बाहिरको साथै मध्य अमेरिकामा रहेका केही स्थानहरूमा डेमोक्रेटले आफूलाई स्थापित गरेको छ । लोहा, मिचिगन, मिनोस्टा र ओहायोमा गभर्नर अफिस र सिनेटर दुवैमा डेमोक्रेटले सफलता पाउनुलाई अभूतपूर्व मानिएको छ । यी स्थानमा दुई वर्षअघि भएको राष्ट्रपतीय निर्वाचनमा ट्रम्प २० अङ्कले अघि थिए ।
सिनेट सदस्यमा भने रिपब्लिकनलाई नराम्रो धक्का लागेको छ । पुरानोबाट सात स्थान रिपब्लिकनले गुमाएको छ । जबकि ३५ स्थानका लागि मात्र सिनेटको निर्वाचन भएको थियो ।
विगतको भन्दा फरक किसिमले डेमोक्रेटहरू यस निर्वाचनमा प्रस्तुत भएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हार्डलाइनरलाई अघि सारेका थिए । प्रायः यी सबै पराजित भए ।
निर्वाचनको पूर्वसन्ध्यामा टेक्ससमा डेमोक्रेटको चाहना कम मतको मात्र हार स्वीकार गर्ने भन्ने थियो । सन् १९९४ पछि टेक्ससमा उनीहरूले सफलता पाएका थिएनन् । तीन दशकपछि सो राज्यमा डेमोक्रेटले सफलता पाएको छ । त्यहाँ डेमोक्रेटले गभर्नर र सिनेट सदस्यमा नै सफलता पाएको छ । ग्रेट अबट सन् १९९० देखि राजनीतिमा प्रभाव पार्नसक्ने व्यक्ति थिए । उनी यस पटक गभर्नर पदमा पराजित भए । उनले यसअघि तीन कार्यकाल सम्हालेका थिए ।
कानासमा डेमोक्रेटले सन् १९३२ पछि पहिलो पटक जीत हात पारेको हो भने सन् १९६४ पछि दक्षिण क्यारोलिना फिर्ता गरेको हो ।
प्रतिनिधिसभामा रिपब्लिकन अझै कमजोर

रिपब्लिकन प्रतिनिधिसभामा केही सिट बढाएर आफू अनुकूल संसद् बनाउने योजनामा थियो । रिपब्लिकनको यो योजनामा ठुलो धक्का क्यालिफोर्निया र उताह जस्ता विगतमा सफलता पाएको क्षेत्र पनि गुमाएपछि खाएको हो । टेक्ससको ५ सिटले डेमाक्रेटलाई उत्साहित बनाएको छ ।
यस निर्वाचनपछि हाकिम जेफ्रिज सभामुख बन्ने सम्भावना प्रबल छ । यसो भएमा उनी पहिलो अश्वेत सभामुख हुनेछन् ।
ट्रम्पका निकटस्थ प्रविधि दुनियाँका सम्राट एलन मस्कले टेक्ससमा ठुलो लगानी गरेका थिए । यसका बाबजुद सो राज्यमा लामो समयपछि डेमोक्रेटले सफलता पाएको छ । यस निर्वाचनमा उनले आधा बिलियन डलर चन्दा सहयोग गरेर सबैभन्दा धेरै राजनीतिक सहयोग गर्ने कीर्तिमान कायम गरेका थिए ।
यस निर्वाचनको मुख्य विषय भने ल्याटिनो मतदाताको स्वीङ हो । यस पटक धेरै ल्याटिनो मतदाता रिपब्लिकनको विरुद्धमा रहको प्रस्ट भएको छ । राष्ट्रपति ट्रम्पको आप्रवासी नीतिमा ल्याटिनोहरू रुष्ट थिए ।
अर्को राष्ट्रपति उम्मेदवारका लागि उत्साह

सन् २०२८ मा हुने राष्ट्रपति निर्वाचनमा डेमोक्रेटले कसलाई उम्मेदवार बनाउने भन्ने कुरा अनिश्चित नै छ । तर सत्य के हो भने यस निर्वाचनले डेमोक्रेटमा उत्साह थपिएको छ । ह्वाइट हाउस प्रवेश गर्ने होडमा रहने अनुमान गरिएका जेबी प्रिटजेकर र जोस सेपारियो गभर्नरमा फेरि विजयी भए । जेबी इलिनियोनास र जोस पेनेसाल्भानियामा निर्वाचित भएका हुन् ।
केन्टुकीका गभर्नर एन्डी बेसर अर्का दाबेदार हुन् । उनले आफ्नो स्थानमा डेमोक्रेटलाई राम्रो सफलता दिलाएका छन् ।
यस निर्वाचनमा प्रशस्त अश्वेतहरू गभर्नरको रूपमा विजयी हुनु एउटा कीर्तिमान हो । अश्वेत सभामुखको नयाँ इतिहासको सम्भावना प्रबल छ । डेमोक्रेटले मुस्लिमलाई सिनेटर बनायो । अश्वेत महिलालाई धेरै स्थानमा नेतृत्वमा स्थापित गर्न पनि डेमोक्रेट सफल भयो ।
पूर्वराष्ट्रपति बाराक ओबामा यस निर्वाचनमा सक्रिय रहे । यो सक्रियतासँगै अमेरिकी मत युद्धविरुद्ध र समावेशीको पक्षमा प्रस्ट देखियो । कठोर नीति बनाएर कुनै एक समुदायलाई मानमर्दनको विरुद्धमा जनमत देखिएको छ ।
-सीएनएन, अलजजिरा, बीबीसीलगायतको सहयोगमा


मनोज घिमिरे 
















