images
images
  • मध्यावधिमा नमीठो हारपछि लत्रिँदै ट्रम्पले भने- निर्वाचन नतिजा स्वीकार्छु, विपक्षीसँग मिलेर काम गर्छु

    काठमाडौं– अमेरिकामा सम्पन्न मध्यावधि निर्वाचनमा केही रिपब्लिकन गढमा डेमोक्रेटिक उम्मेदवारहरूको जितपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले विपक्षी दलसँग मिलेर काम गर्ने बताएका छन् ।

    न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा उनले मध्यावधि चुनावको नतिजा स्वीकार गर्न पूर्ण रूपमा आफू तयार रहेको बताए ।

    ‘हो, म नतिजा स्वीकार गर्न पूर्ण रूपमा तयार छु । हामी उनीहरू (विपक्षी) सँग काम गर्न तत्पर छौं’, ट्रम्पले भनेका छन्, ‘सायद हामी मिलेर कुनै बाटो फेला पार्न सक्छौं ।’

    यसअघि ट्रुथ सोसलमा चुनावी परिणामबारे पहिलो प्रतिक्रिया दिँदै उनले चुनावमा आफू उम्मेदवार भएको भए भारी मतले जित्ने दाबी गरेका थिए ।

    ट्रम्पले लेखेका थिए, ‘म चुनावी मैदानमा छैन । मैले चुनाव लडेको भए हामीले भारी मतले जित्ने थियौं ।’

    उनले सांकेतिक रुपमा हारको दोष रिपब्लिकन उम्मेदवारहरूलाई लगाउन खोजेका छन् । धेरै रिपब्लिकन नेताहरू पहिले नै मध्यावधि चुनावमा ट्रम्पको अडानबाट असन्तुष्ट थिए ।

    प्रतिनिधिसभा र सिनेटमा नियन्त्रण गुमाउने सम्भावनाका साथ ट्रम्पले दिएको अभिव्यक्तिले रिपब्लिकन पार्टीभित्र विभाजन अझ बढाउन सक्ने आकलन गरिएको छ ।

    हाल संसद्‌का दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत छ । मध्यावधि निर्वाचनपछि ट्रम्पको पार्टीले दुइटै सदनमा बहुमत गुमाएको छ, जसले ट्रम्पलाई आफ्नो एजेन्डासँग सम्बन्धित कानुन पारित गराउन गाह्रो पार्नेछ ।

    ४३५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि २१८ सिट आवश्यक पर्छ।

    अमेरिकी कंग्रेसमा बहुमतको गणित

    अमेरिकी कंग्रेस (संसद) का दुवै सदनमा बहुमत हासिल गर्न फरक–फरक संख्यामा सिट आवश्यक पर्छ ।

    सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । सिनेटमा कुल १०० सिट छन् । हाल रिपब्लिकन पार्टीसँग ५३ सिट छन् भने डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् । अनि डेमोक्रेटिकसँग काम गर्ने दुई स्वतन्त्र सांसद छन् । यसले दुई दलबीच ५३–४७ सिटको अनुपात सिर्जना गरेको छ ।

    मध्यावधि चुनावबाट ३६ राज्यका गभर्नर पनि चुनिँदैछन् । प्रारम्भिक मत परिणाममा धेरै राज्यमा डेमोक्रेटिक पार्टीले अग्रता लिइरहेको छ भने राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टी पछि परेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images