काठमाडौं– अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले सिनेट र प्रतिनिधिसभा दुवैमा बहुमत हासिल गरेका छन् । यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालका बाँकी दुई वर्षमा उगको विधायिकी योजनामा अवरोध पुग्ने र प्रशासनमाथि अनुसन्धान बढ्ने देखिएको छ ।
जीवनयापनको बढ्दो लागत, भन्सार शुल्क र इरानसँगको युद्धप्रति मतदाताको असन्तुष्टि निर्वाचन परिणाममा प्रतिबिम्बित भएको छ । ट्रम्पले परिणाम स्वीकार गर्ने बताउँदै डेमोक्रेटहरूले राम्रो चुनावी अभियान सञ्चालन गरेको प्रशंसा गरेका छन् । तर उनले रिपब्लिकनहरूको हारलाई आफ्नो व्यक्तिगत पराजय मान्न अस्वीकार गरेका छन् ।
डेमोक्रेटहरूले मेन, टेक्सास, कन्सास, आयोवा, दक्षिण क्यारोलिना र उत्तर क्यारोलिनालगायत राज्यमा सफलता हासिल गरेका छन् । मेनमा ट्रोय ज्याक्सनले रिपब्लिकन सिनेटर सुसान कोलिन्सलाई पराजित गरेका छन् भने जर्जियामा केइशा लान्स बटम्स अमेरिकी इतिहासकै पहिलो अश्वेत महिला गभर्नर निर्वाचित भएकी छन् ।
दुवै सदनमा बहुमत पाएपछि डेमोक्रेटहरूले इरान युद्ध, आप्रवासन नीति र भ्रष्टाचारका आरोपमाथि अनुसन्धान गर्न तथा ट्रम्पका विधेयक र सरकारी नियुक्तिमा अवरोध गर्न सक्नेछन् । प्रतिनिधिसभाका नेता हाकिम जेफ्रिज आगामी जनवरीमा पहिलो अश्वेत सभामुख बन्न सक्ने सम्भावना छ ।
परिणाम स्वीकार गर्ने बताए पनि ट्रम्पले आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गरेका छन् । उनले डेमोक्रेटहरूले पारित गरेका विधेयकमा राष्ट्रपतीय भिटो प्रयोग गर्ने चेतावनीसमेत दिएका छन् । यसले आगामी दुई वर्ष अमेरिकी राष्ट्रपति र कङ्ग्रेसबीच राजनीतिक टकराव बढ्न सक्ने सङ्केत गरेको छ ।
यसैबीच राष्ट्रपति ट्रम्पले डेमोक्रेटहरूसँग मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
द न्युयोर्क टाइम्ससँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले निर्वाचनको परिणाम स्वीकार्न आफू पूर्ण रूपमा तयार रहेको बताउँदै डेमोक्रेटहरूसँग सहकार्य गरेर केही काम गर्न सकिने उल्लेख गरेका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा आफू निर्वाचनको मतपत्रमा नरहेको उल्लेख गर्दै आफू उम्मेदवार भएको भए रिपब्लिकनहरूले भारी मतान्तरले जित्ने दाबी गरेका छन् । यद्यपि मध्यावधि निर्वाचन अभियानका क्रममा उनले मतदातालाई आफू पनि मतपत्रमा रहेको जस्तो ठानेर मतदान गर्न आग्रह गरेका थिए ।





















