काठमाडौं – धनकुटाको महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका जोड्ने रणनीतिक महत्त्वको सिधुवा–जितपुर सडक कालोपत्रे गर्ने काम अघि बढेको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य र स्वास्थ्यमन्त्री इन्द्रमणि पराजुलीले संयुक्त रूपमा सडक कालोपत्रे योजनाको शिलान्यास गरेका हुन् ।
महालक्ष्मी नगरपालिका र छथर जोरपाटी गाउँपालिका जिल्लाका प्रमुख दूध तथा बेमौसमी तरकारी उत्पादन क्षेत्रका रूपमा परिचित छन्। तर, सडकको अवस्था कमजोर हुँदा विशेषगरी वर्षायाममा किसानले दूध, तरकारी तथा अन्य कृषि उपज समयमै बजार पुर्याउन कठिनाइ भोग्दै आएका थिए। ढुवानीमा हुने ढिलाइका कारण कृषि उपज बिग्रिने र आर्थिक क्षति बेहोर्नुपर्ने समस्या पनि रहँदै आएको थियो ।
जिल्लाका अन्य स्थानीय तहका केन्द्र पक्की सडक सञ्जालमा जोडिइसक्दा पनि महालक्ष्मी नगरपालिकाको केन्द्र जितपुरसम्म कालोपत्रे सडक पुग्न सकेको थिएन। सडक स्तरोन्नतिको काम अघि बढेसँगै कृषि उपजको बजारीकरण सहज हुने र नगरपालिका कार्यालयबाट सेवा लिन आउने नागरिकको आवागमनमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।
पूर्वाधार विकास कार्यालयका अनुसार आयोजनाको पहिलो प्याकेजअन्तर्गत सिधुवा बजारदेखि जितपुरतर्फको चार किलोमिटर सडक अस्फाल्ट कङ्क्रिट प्रविधिबाट कालोपत्रे गरिनेछ। कुल १९ करोड ९९ लाख ९९ हजार रुपैयाँ लागत अनुमान गरिएको आयोजनाको ठेक्का याशुकी–भानुमती जेभीले ११ करोड ९ लाख २५ हजार रुपैयाँमा सम्झौता गरेको छ । साढे पाँच मिटर चौडाइको सडकमा कालोपत्रेसँगै नाली, कल्भर्ट, कजवे तथा पर्खाल निर्माण पनि गरिनेछ। निर्माण कार्य २०८५ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
शिलान्यास कार्यक्रममा भौतिक पूर्वाधार विकासमन्त्री आचार्यले कृषि उत्पादन र नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक निर्माण प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए। विकासले नागरिकको जीवनस्तरमा प्रत्यक्ष परिवर्तन ल्याउनुपर्ने उल्लेख गर्दै उनले सडककै कारण किसानले उत्पादन गरेको दूध तथा तरकारी नोक्सान हुने अवस्थाको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताए। निर्धारित समयभित्र गुणस्तरीय काम सम्पन्न भए आयोजनाका लागि बजेट अभाव हुन नदिने उनको भनाइ थियो ।
स्वास्थ्यमन्त्री पराजुलीले सडक निर्माणलाई जितपुरमा मात्र सीमित नराखी लेगुवासम्मको बाँकी खण्डलाई पनि पूर्णता दिन थप बजेट सुनिश्चित गर्ने बताए। वर्षायाममा सडक निर्माणका कारण दूध तथा तरकारी ढुवानी प्रभावित हुन सक्ने भएकाले हिउँद सुरु भएसँगै कामलाई तीव्रता दिइएको उनले उल्लेख गरे ।
कार्यक्रममा कोशी प्रदेशसभा सदस्य निरन राई, महालक्ष्मी नगरपालिकाकी उपप्रमुख मञ्जु कार्की र छथर जोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङले सडक निर्माणले स्थानीय कृषि अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै कृषि उपजको बजार पहुँच विस्तार र पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे। ऐतिहासिक नागेश्वर मन्दिरलगायत धार्मिक तथा पर्यटकीय क्षेत्रसम्म पुग्न पनि सडकले सहजता थप्ने उनीहरूको भनाइ थियो ।
निर्माण व्यवसायीका प्रतिनिधि किशोर भट्टराईले स्थानीयवासीबाट आवश्यक सहयोग प्राप्त भए तोकिएको समयसीमाभित्रै गुणस्तरीय सडक निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए। कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मिलन आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय कृषक, जनप्रतिनिधि तथा सर्वसाधारणको उपस्थिति थियो ।






















