काठमाडौं – भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानीगढमा फसेका छ जना भारतीय पर्यटकको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सोमबार बिहान उनीहरूलाई सकुशल उद्धार गरी जिल्ला सदरमुकाम दुनै ल्याइएको हो ।
जिल्ला प्रशासन कार्यालय डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार शे–फोक्सुण्डो तालको अवलोकन यात्रा सकेर अपर डोल्पातर्फ थप यात्रामा निस्किएका पर्यटक केही दिनदेखिको भारी हिमपातका कारण दानीगढमा फसेका थिए ।
उद्धार गरिएका पर्यटकमा मोमिता हाल्डर, पियाली कोले, जाजला ट्रिभ्ड कुमार, आदित्य सिंह, डिप्लिना विश्वास र राजेश डी रहेका छन् ।
प्रमुख जिल्ला अधिकारी ढकालले पर्यटकको उद्धारका लागि आइतबार पनि प्रयास गरिएको भए पनि प्राविधिक समस्याका कारण सम्भव नभएको जानकारी दिइन् । सोमबार बिहान हेलिकोप्टरमार्फत उनीहरूको उद्धार गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्






















