images
images
  • मधेस प्रदेश सरकार गठनबारे दलहरूबीच सघन छलफल भइरहेको छ : प्रचण्ड

    काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठनका विषयमा विभिन्न राजनीतिक दलबीच सघन छलफल भइरहेको बताएका छन् । सरकार गठनका लागि विभिन्न विकल्प खुला राखेर संवाद अघि बढाइएको उनको भनाइ छ ।

    पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका प्रचण्डले सञ्चारकर्मीसँग कुरा गर्दै मधेस प्रदेश सरकारको स्थायित्वका लागि लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूबीच सहकार्य र समन्वयको प्रयास भइरहेको बताए ।

    “हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ,” उनले भने ।

    प्रचण्डले लोकतान्त्रिक गणतन्त्र पक्षधर दलहरूबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको पनि बताए । अभियान मुख्यतः पार्टीको आन्तरिक संगठनात्मक काम व्यवस्थित गर्न केन्द्रित रहेको उल्लेख गर्दै उनले यसै अभियानमार्फत अन्य राजनीतिक दलसँगको सम्बन्ध पनि थप सुदृढ बनाउने लक्ष्य रहेको बताए ।

    यसैबीच, नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार बर्दिबासमा मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मधेसभरिका पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला अध्यक्ष र संयोजक सहभागी हुने प्रदेश इन्चार्ज राजु खड्काले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images