काठमाडौं – धरान उपमहानगरपालिका–२० च्यानडाँडाबाट प्रहरीले दुई क्विन्टलभन्दा बढी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट २०९ किलो ४२० ग्राम गाँजा र ओसारपसारमा प्रयोग गरिएका दुईवटा स्कार्पियो गाडी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गाँजा ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुईवटा स्कार्पियोमा लोड गरिएको गाँजासहित उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीलाई देखेपछि गाँजा बोकेका गाडीसहित भाग्न खोजेपछि दुई राउन्ड हवाई फायर गरेर उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
पक्राउ पर्नेमा सप्तरीको डाक्नेश्वरी नगरपालिका–१० का २४ वर्षीय रामसागरकुमार यादव, राजगढ गाउँपालिका–१ का ४५ वर्षीय राजेन्द्रप्रसाद मण्डल, भारतको बिहारस्थित मधुवनी जिल्लाका ३८ वर्षीय सन्तोष ठाकुर, सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ का ५९ वर्षीय राजकुमार साह र धरान उपमहानगरपालिका–११ का २१ वर्षीय अमृत बिशुङ्खे छन् ।
प्रहरीले घटनास्थलबाट बा १ च ५०३८ र को १ च ८१८२ नम्बरका दुईवटा स्कार्पियोसमेत बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई गाँजा र गाडीसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।






















