काठमाडौं – हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरेको प्राथमिक सेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले कात्तिक ११ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो ।
कम्पनीले जारी पुँजी एक अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको छ । त्यसमध्ये सर्वसाधारणका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् चार करोड २२ लाख ५० हजार रुपैयाँ बराबरका चार लाख २२ हजार ५०० कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको हो । यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको हुनुपर्नेछ ।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ ।
कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत् आयोजनाको कुल लागत तीन अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ छ । आयोजनाले २०८२ असोज २५ गतेदेखि विद्युत् उत्पादन गर्दै आएको छ । यसको विद्युत् उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ । आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा आधारित लगानी फिर्ता अवधि ९.०८ वर्ष रहेको छ ।
त्यस्तै, पाँच दशमलव पाँच मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत् आयोजनाको कुल लागत एक अर्ब १५ करोड चार लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ । यसको प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ छ । यस आयोजनाले २०८२ साउन ८ गतेदेखि विद्युत् उत्पादन गरिरहेको छ । आयोजनाको अनुमतिपत्र अवधि २८ वर्ष बाँकी रहेको छ भने साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा आधारित अवधि ९.५६ वर्ष रहेको छ।
आईपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्बा प्रणालीमार्फत अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट आवेदन दिन सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङ लिमिटेडको मेरो सेयर अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।






















