images
images
  • पोखरा महानगरले १२० युवालाई निःशुल्क सीपमूलक तालिम दिने

    काठमाडौं – बेरोजगारी न्यूनीकरण तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले १२० जनालाई निःशुल्क सीपमूलक तालिम प्रदान गर्ने भएको छ। महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गत व्यवसाय प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्यक्रमअनुसार छ विधामा तालिम सञ्चालन गर्न लागेको हो ।

    महानगरले वेटर तथा वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्नेछ। प्रत्येक विधामा २० जनाका दरले कुल १२० जनालाई सहभागी गराइने व्यवसाय प्रवर्द्धन केन्द्रले जनाएको छ ।

    तालिमको मुख्य उद्देश्य बजारको मागअनुसार युवालाई व्यावसायिक सीप प्रदान गरी रोजगारीमा आबद्ध गराउनुका साथै आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम बनाउनु रहेको महानगरले जनाएको छ । सीप र दक्षताको अभावमा रोजगारीका अवसरबाट वञ्चित हुनुपर्ने अवस्थालाई कम गर्दै युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने लक्ष्य राखिएको छ ।

    व्यवसाय प्रवर्द्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले सीपमूलक तालिमले युवालाई रोजगारी खोज्ने मात्र नभई आफैँ रोजगारी सिर्जना गर्न सक्ने बनाउने बताए । उनका अनुसार बजारको आवश्यकता पहिचान गरी सञ्चालन गरिने तालिमबाट सहभागीले सेवा क्षेत्रमा रोजगारी पाउनुका साथै आफ्नै व्यवसाय सुरु गर्न सक्नेछन् ।

    अधिकारीले विगतका वर्षमा सञ्चालन गरिएका यस्ता तालिम प्रभावकारी देखिएकाले यस वर्ष पनि निरन्तरता दिइएको बताए । तालिममा सिकेको सीप व्यवहारमा उतार्न सके बेरोजगारी न्यूनीकरण र स्थानीय उद्यमशीलता विकासमा योगदान पुग्ने उनको भनाइ छ ।

    केन्द्रका अनुसार तालिमको अवधि विधाअनुसार १६० देखि ३९० घण्टासम्म हुनेछ। बारिस्टा तालिम १६० घण्टा र सहायक ब्युटिसियन तालिम ३६० घण्टाको हुनेछ भने वेटर तथा वेट्रेस, केयर गिभर, कुक र बाल विकास सहजकर्ता तालिम ३९० घण्टाका हुनेछन्। तालिममा सहभागी हुन इच्छुक युवा तथा युवतीले आवश्यक कागजातसहित कात्तिक मसान्तभित्र निवेदन पेस गर्नुपर्नेछ ।

    पर्यटकीय राजधानी पोखरामा आतिथ्य सेवा, स्वास्थ्य हेरचाह, सौन्दर्य सेवा तथा बाल विकास क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमले सहयोग पुग्ने महानगरको आशा छ । तालिममार्फत स्थानीयस्तरमै रोजगारीका अवसर विस्तार गर्नुका साथै युवालाई स्वरोजगार र उद्यमशीलतातर्फ प्रेरित गर्ने लक्ष्य महानगरले लिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images