काठमाडौं – इजरायलमा अरब राजनीतिक दललाई समेत सहभागी गराएर नयाँ सरकार गठन गर्नुपर्ने माग गर्दै हजारौँ मानिस सडकमा उत्रिएका छन् । शनिबार साँझ तेल अभिभसहित देशका विभिन्न सहरमा प्रदर्शन गर्दै उनीहरूले यहूदी र अरब समुदायबीच सहकार्य, समानता र शान्तिको पक्षमा आवाज उठाएका हुन् ।
तेल अभिभको हबिमा स्क्वायरमा करिब दुई हजार प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले ‘साझेदारी र समानताबाट सरकार परिवर्तन गर्छौं’ र ‘परिवर्तनका लागि बहुमत छ’ लेखिएका प्लेकार्ड बोकेका थिए । प्रदर्शनकारीले अरब दललाई समेटेर नयाँ सरकार गठन गर्नुपर्ने माग गरेका थिए ।
जेरुसेलमको पेरिस स्क्वायर, हाइफाको अडिटोरियम प्लाजा तथा अन्य स्थानमा पनि यस्तै प्रदर्शन भएका थिए। बेरशेबामा दर्जनौँ मानिस सडकमा उत्रिएका थिए भने तिरा र तैयबे आसपास पनि प्रदर्शन भएको थियो ।
यसको विरोधमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहूका समर्थकहरूले पनि तेल अभिभको हबिमा स्क्वायरमै छुट्टै प्रतिप्रदर्शन गरेका थिए । उनीहरूले अरब दलले चुनाव चोरेको आरोप लगाउँदै नयाँ निर्वाचनको माग गरेका थिए । प्रतिप्रदर्शनमा सहभागी केही युवाले अरब समुदायलाई लक्षित गरी जातिवादी नारा लगाएको समाचारमा उल्लेख छ ।
संसद्को अंकगणितले अरब दल निर्णायक
गत मंगलबार सम्पन्न संसदीय निर्वाचनपछि इजरायलमा नयाँ सरकार गठनको समीकरण जटिल बनेको छ। १२० सदस्यीय संसद् नेसेटमा नेतान्याहू नेतृत्वको गठबन्धनले ५३ सिट प्राप्त गरेको छ। उनलाई सत्ताबाट हटाउन चाहने विपक्षी समूहले भने अरब दलसहित ६७ सिट जितेको छ।
तर विपक्षी समूहभित्रका यहूदी दलसँग ४८ सिट मात्रै छन् । अरब नेतृत्वका दुई दल–जोइन्ट लिस्ट र रामले क्रमशः ११ र आठ गरी १९ सिट जितेका छन्। सरकार गठनका लागि संसद्मा कम्तीमा ६१ सिट आवश्यक पर्ने भएकाले विपक्षी दललाई बहुमत पुर्याउन अरब दलको समर्थन अपरिहार्य देखिएको छ।
यद्यपि विपक्षी गठबन्धनका सबै दल अरब दलसँग मिलेर सरकार बनाउन तयार छैनन् । केही नेताले उनीहरूसँग सत्ता साझेदारी अस्वीकार गरेका छन् भने अन्य नेताले सरकार परिवर्तनका लागि सहकार्य आवश्यक रहेको बताएका छन् । अरब दलले सरकारमा सहभागी हुने वा बाहिरबाट समर्थन गर्ने भन्ने विषयले पनि आगामी राजनीतिक समीकरण निर्धारण गर्नेछ ।






















