images
images
  • केन्द्रीय रक्तसञ्चार सेवामा रगतको मौज्दात शून्य, दैनिक ३५० पिन्ट माग धान्न कठिन

    काठमाडौं – नेपाल रेडक्रस सोसाइटीअन्तर्गत केन्द्रीय रक्तसञ्चार सेवामा सबै रक्तसमूहको रगत मौज्दात सकिएको छ । सामान्य अवस्थामा काठमाडौंमा दैनिक करिब ३५० पिन्ट रगतको माग हुने गरे पनि मौज्दात शून्य भएपछि बिरामीलाई आवश्यक रगत उपलब्ध गराउन कठिनाइ हुन थालेको छ ।

    केन्द्रीय रक्तसञ्चार सेवाका प्रमुख डा. प्रकाश यादवका अनुसार केन्द्रमा सबै रक्तसमूहका होल ब्लड, प्याक्ड रेड ब्लड सेल (पीआरबीसी) र प्लेटलेट्स (पीआरपी) को मौज्दात सकिएको हो । यसले रगत आवश्यक पर्ने बिरामीको उपचार व्यवस्थापनमा चुनौती थपिएको छ । सामान्य अवस्थामा समेत मागअनुसार रगत उपलब्ध गराउन कठिन भइरहेको बेला ठूलो दुर्घटना वा विपद् आइपरे अवस्था थप जटिल बन्न सक्ने उनले बताए ।

    डा। यादवका अनुसार दसैँ बिदापछि रक्तदान कार्यक्रम घट्नु र अस्पतालमा उपचाररत बिरामीका लागि रगतको माग बढ्दै जानुले मौज्दातमा कमी आएको हो । चाडपर्वसँगै शैक्षिक संस्थामा बिदा हुँदा नियमित रक्तदान कार्यक्रम प्रभावित भएको उनको भनाइ छ । शुक्रबारदेखि पुनः रक्तदान कार्यक्रम सञ्चालन हुन थाले पनि मौज्दात शून्यको अवस्थामा रहेकाले दैनिक माग धान्न पर्याप्त रक्तदान आवश्यक रहेको उनले बताए । मौसम प्रतिकूल हुँदा रक्तदान कार्यक्रम प्रभावित हुन सक्ने चिन्ता पनि थपिएको छ ।

    केन्द्रीय रक्तसञ्चार सेवाले शनिबार मात्रै एक दर्जनभन्दा बढी स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको जनाएको छ। तीन महिनाको अवधि पूरा भएका नियमित स्वयंसेवी रक्तदाता तथा १८ वर्ष उमेर पूरा भएका स्वस्थ युवा–युवतीलाई रक्तदानमा सहभागी हुन डा। यादवले आग्रह गरेका छन् ।

    ‘अहिलेको अवस्थालाई समाधान गर्ने गरी हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘हामीले मात्रै चाहेर हुँदैन, यसका लागि स्वयंसेवी रक्तदाता पनि उत्साहित भएर तयार हुनुपर्छ ।’

    रक्तदानलाई मानवीय सेवाको महत्वपूर्ण अंगका रूपमा उल्लेख गर्दै डा। यादवले यसलाई सामाजिक दायित्वका रूपमा लिनुपर्ने बताए। नियमित रक्तदानबाट मात्रै रगतको अभाव कम गर्न र आकस्मिक अवस्थामा बिरामीलाई समयमै उपचार सेवा उपलब्ध गराउन सकिने उनको भनाइ छ ।

    केन्द्रीय रक्तसञ्चार सेवामा सबै रक्तसमूहको मौज्दात शून्य हुनुले नियमित रक्तदानको आवश्यकता मात्र होइन, दुर्घटना तथा प्राकृतिक विपद्का बेला पर्याप्त रगत उपलब्ध गराउन पूर्वतयारीको महत्त्वसमेत उजागर गरेको छ । आकस्मिक उपचार प्रभावित हुन नदिन रक्तदान अभियानलाई निरन्तरता दिनुपर्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images