कठमाडौं – काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालन गरिएको निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित भएका छन् । जिल्ला सहकारी सङ्घ र पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजनामा शनिबार शिविर सञ्चालन गरिएको हो ।
शिविरमा आँखाका रोगीको स्वास्थ्य परीक्षण तथा उपचार गर्नुका साथै दृष्टिसम्बन्धी समस्याबारे परामर्श दिइएको थियो। परीक्षणका क्रममा मोतिबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ ।
रेयुकाई मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा पहिचान भएका मोतिबिन्दुका बिरामीलाई सोही अस्पतालले निःशुल्क उपचार गर्ने जिल्ला सहकारी सङ्घका कायममुकायम प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले जानकारी दिए ।
यसैबीच, काभ्रेवासीको पोषण अवस्था सुधार गर्न स्थानीय तहबीच समन्वय र पोषणसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले आयोजना गरेको तीनदिने पोषण कार्यक्रमको आइतबार समापनका अवसरमा सहभागीहरूले स्वास्थ्य संस्थाबीचको समन्वय र विद्यालय पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताएका हुन् ।






















