काठमाडौं – बाढीपहिरोका कारण म्याग्दीको मङ्गला गाउँपालिकामा १६६ घरपरिवार प्रभावित भएका छन् । विपद्बाट १७ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ७७ घर उच्च जोखिममा र ७२ घर जोखिममा रहेका छन् ।
गाउँपालिकाका अनुसार बाढीपहिरोले ५७२ रोपनी खेतबारीमा क्षति पुर्याएको छ। त्यस्तै, १२ वटा गोठ पूर्ण र १८ वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । गाउँपालिकाभित्रका २० वटा सडकमा समेत क्षति पुगेको छ ।
गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाका अनुसार वडा नं. ५ को छिसवाङ, वडा नं. २ को भाइवाङ र वडा नं. ४ को महेशलाई जोखिमयुक्त बस्तीका रूपमा पहिचान गरिएको छ । विपद्बाट प्रभावित परिवारलाई राहत वितरण र अस्थायी बसोबासको व्यवस्था गरिएको छ भने क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको छ ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिकाले जनाएको छ । पहिरोका कारण विस्थापित गाउँपालिका–३ बरञ्जाका गङ्गाप्रसाद पुर्जा र कृष्णलाल सापकोटाले बस्ती संरक्षण तथा पहिरो नियन्त्रणका लागि स्थानीय तहले समयमै सक्रियता देखाउनुपर्ने बताएका छन् । उनीहरूले आवश्यक रोकथामका उपाय नअपनाए आगामी वर्षायाममा अझ ठूलो क्षति हुन सक्ने चिन्ता व्यक्त गरेका छन् ।
यसैगरी, छिसवाङ, सहस्रधारा, तोराखेत र सेराफाँट क्षेत्रमा म्याग्दी नदीको कटानले बस्ती जोखिममा पारेको छ । बाढीपहिरोबाट सिँचाइ तथा खानेपानी आयोजनामा पुगेको क्षतिको विवरणसमेत सङ्कलन भइरहेको गाउँपालिकाले जनाएको छ ।






















