images
images
  • सिक्टा सिँचाइ आयोजनाले किसानको लगत सङ्कलन गर्दै, जल व्यवस्थापनलाई प्राथमिकता

    काठमाडौं – निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका उपभोक्ता किसानको लगत सङ्कलन गरी त्यसैका आधारमा जल व्यवस्थापनको काम अघि बढाएको छ । पूर्वी र पश्चिमी मूल नहरअन्तर्गतका शाखा, उपशाखा तथा प्रशाखाबाट सिँचाइ सुविधा लिइरहेका र भविष्यमा सुविधा लिन सक्ने किसानको विवरण सङ्कलन भइरहेको आयोजनाले जनाएको छ ।

    आयोजना निर्देशक राजु आचार्यका अनुसार किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको छ । सिँचाइ सेवा प्राप्त गर्न जल उपभोक्ता सदस्यता अनिवार्य भएकाले स्थानीय जनप्रतिनिधि र किसानसँग छलफल गरेर विवरण सङ्कलन गरिएको उनले बताए । सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन गरिनेछ ।

    “सिँचाइ सेवा लिन जल उपभोक्ता सदस्यता अनिवार्य छ । यही सदस्यताका आधारमा उपशाखा, शाखा र मूल नहर सञ्चालन समिति चयन हुनेछ,” निर्देशक आचार्यले भने, “लगतका आधारमा आयोजनाले सिँचाइ विस्तार, आवश्यक पूर्वाधार निर्माण र जल व्यवस्थापनको काम गर्नेछ ।”

    पश्चिमी मूल नहरअन्तर्गत पेडारी, अकलघरुवा र पर्सेनीपुर शाखा तथा पूर्वी मूल नहरअन्तर्गत राजकुलो र फत्तेपुर शाखाका उपभोक्ता किसानसँग लगत सङ्कलनका लागि छलफल गरिएको छ । पूर्वी मूल नहर उपभोक्ता तदर्थ समितिका अध्यक्ष लालबहादुर बस्नेतले आयोजनाको आगामी योजना निर्माण र कार्यान्वयनलाई सहज बनाउन किसानको विवरण सङ्कलन गरिएको बताए। उनका अनुसार पूर्वी मूल नहरअन्तर्गतका किसानको लगत सङ्कलन अन्तिम चरणमा पुगेको छ ।

    आयोजना निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ५१ प्रतिशत पुगेको छ। हालसम्म पूर्वाधार निर्माणमा करिब २४ अर्ब रुपैयाँ खर्च भइसकेको छ । मर्मतसम्भारको काम नियमित रूपमा भइरहेको र निर्माणका बाँकी काम पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम अघि बढाइएको उनले जानकारी दिए ।

    आर्थिक वर्ष २०६२र६३ मा निर्माण सुरु भएको आयोजनाअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ । आयोजनाले कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ ।

    नेपाल सरकारको आफ्नै स्रोतबाट निर्माण भइरहेको आयोजनाको पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने योजना छ । हालसम्म २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images