images
images
  • महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो मङ्सिरभित्र सकिने

    काठमाडौं – जनकपुरधाम–ढल्केवर छ लेन व्यापारिक सडकअन्तर्गत धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा निर्माणाधीन दुई वटा आकाशे पुलको निर्माण सम्पन्न भएको छ । पुलमा रङरोगन तथा सौन्दर्यीकरणको काम भइरहेको र चाँडै सर्वसाधारणका लागि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

    मधेस प्रदेशमा पहिलो पटक निर्माण गरिएका यी आकाशे पुलले व्यस्त सडकमा पैदल यात्रुको आवागमन सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ । सडक डिभिजन कार्यालय मुजेलिया, जनकपुरधामका अनुसार पैदल यात्रुको चाप बढी हुने महिला विकास चोक र सखुवा चोकमा दुई तथा लक्ष्मीनिया गाउँपालिकामा एउटा गरी तीन वटा पुल निर्माण थालिएको हो ।

    तीनवटै पुल निर्माणका लागि करिब १० करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको थियो । त्यसमध्ये महेन्द्रनगरका दुई पुलको निर्माण सम्पन्न भएको सडक डिभिजन कार्यालयका प्रमुख डिभिजनल इन्जिनियर दरोगाप्रसाद साहले जानकारी दिए । उनका अनुसार लक्ष्मीनिया गाउँपालिकामा निर्माणाधीन तेस्रो पुलको काम पनि तीव्र गतिमा भइरहेको छ । उक्त पुल मङ्सिर मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    निर्माण लागतअनुसार महिला विकास चोकको पुलका लागि तीन करोड ३५ लाख रुपैयाँ, सखुवा चोकको पुलका लागि तीन करोड ५७ लाख रुपैयाँ र लक्ष्मीनियाको पुलका लागि तीन करोड ४२ लाख रुपैयाँ विनियोजन गरिएको छ । यी सबै लागतमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छ । पुल निर्माणको जिम्मा दुई वटा निर्माण कम्पनीले पाएका छन् ।

    सडक डिभिजन कार्यालयका साइट इन्जिनियर उज्ज्वल झाका अनुसार प्रत्येक पुल पाँच दशमलव छ मिटर अग्लो, २९ दशमलव चार मिटर लामो र तीन मिटर चौडा छ । पुल सञ्चालनमा आएपछि पैदल यात्रुले व्यस्त सडकमा सवारीसाधनको जोखिम मोलेर सडक पार गर्नुपर्ने अवस्था अन्त्य हुने उनले बताए ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर शाहीले आकाशे पुल सञ्चालनमा आएपछि सडक दुर्घटनाको जोखिम घट्ने बताए। पूर्व–पश्चिम राजमार्ग हुँदै जनकपुरधाम प्रवेश गर्ने प्रमुख सडक भएकाले यस क्षेत्रमा दैनिक सयौँ पैदल यात्रुको आवागमन हुने गरेको उनको भनाइ छ ।

    स्थानीय शम्भुप्रसाद यादवले महिला विकास चोक र सखुवा चोक आसपास हाटबजार, शैक्षिक संस्था तथा बस्ती रहेकाले यसअघि सडक वारपार गर्न जोखिम हुने गरेको बताए । क्षीरेश्वरनाथ बहुमुखी क्याम्पसका प्राचार्यसमेत रहेका यादवले पुल सञ्चालनमा आएपछि बालबालिका, विद्यार्थी र ज्येष्ठ नागरिकलाई आवतजावतमा सहज हुने विश्वास व्यक्त गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images