images
images
  • विद्युत् सर्ट भएर अम्बे स्टिलमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा, आठ घाइते

    काठमाडौं – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा आएको छ । आइतबार बिहान करिब ५ः४० बजे विद्युत् सर्ट भएर कम्पनीभित्र आगलागी भएको प्रहरीले जनाएको छ ।

    आगलागीमा परी पाँच नेपाली र तीन भारतीय गरी आठ जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पठाइएको थियो। तीमध्ये बाँकेका शिवप्रसाद चमार र रामदिन हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव छन् । त्यस्तै, भारतको बहराइच जिल्लाको कठौतियाका २९ वर्षीय राजकुमार, २४ वर्षीय नशिवकुमार निषाद र २५ वर्षीय विनोदकुमार निषाद घाइते भएका छन् ।

    आगलागीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थलमा खटिएको थियो ।

    आगो नियन्त्रणका लागि नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एउटा दमकल परिचालन गरिएको थियो । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयको सहयोगमा करिब पाँच घण्टाको प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images