images
images
  • पहिरो पन्छाएर बीपी राजमार्ग खुलाउने प्रयास सुरु, कान्ति लोकपथ पनि अवरुद्ध

    काठमाडौं – अविरल वर्षापछि पहिरो खस्दा अवरुद्ध बनेको बीपी राजमार्ग खुलाउने प्रयास सुरु भएको छ । शुक्रबार र शनिबार परेको वर्षाका कारण राजधानी काठमाडौं आवतजावत गर्ने बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।

    सडकमा पहिरो र लेदो थुप्रिएपछि शनिबार बिहानैदेखि बीपी राजमार्गमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । काभ्रेको रोसी गाउँपालिका–७ गिम्दीबेँसीमा आइतबार बिहानदेखि डोजरको सहायताले पहिरो पन्छाउन थालिएको प्रहरीले जनाएको छ । वर्षा रोकिएपछि सडक खुलाउने काम सुरु गरिएको हो ।

    यसैगरी, बाढीपहिरोका कारण ललितपुर र मकवानपुर जोड्ने कान्ति लोकपथ पनि अवरुद्ध भएको छ । ललितपुरको बागमती गाउँपालिका–३ स्थित पान्दु र टार्कुचेमा पहिरो खसेपछि सडकमा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

    दुवै राजमार्ग अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन प्रभावित भएका छन् । पहिरो पन्छाउने काम जारी रहे पनि सडक पूर्ण रूपमा सञ्चालनमा आउन समय लाग्न सक्ने देखिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images