काठमाडौं– विश्वकै सबैभन्दा ठुलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सबाट केही मिनेटमै ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको डिजिटल मुद्रा चोरी भएको घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) ले जनाएको छ । यसलाई क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठुलो चोरी मानिएको छ ।
एफबीआईले शनिबार जारी गरेको विज्ञप्तिमा यस साताको साइबर आक्रमण ‘ट्रेडरट्रेटर’ नामक समूहको दुर्भावनापूर्ण साइबर गतिविधिसँग सम्बन्धित रहेको जनाएको छ । यही समूह गत वर्ष क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइबिटबाट एक अर्ब ५० करोड अमेरिकी डलर चोरी भएको घटनामा पनि सङ्लग्न रहेको एफबीआईको दाबी छ ।
ब्युरोले क्रिप्टोकरेन्सी एक्सचेन्ज, ब्लकचेन विश्लेषण गर्ने कम्पनीलगायत सम्बन्धित निकायलाई चोरीसँग जोडिएका विभिन्न डिजिटल ठेगानामा हुने कारोबार रोक्न आग्रह गरेको छ । चोरी भएको रकमको स्रोत लुकाउन त्यसलाई विभिन्न माध्यमबाट स्थानान्तरण गरी शुद्धीकरण गर्ने प्रयास हुन सक्ने भन्दै एफबीआईले सतर्कता अपनाउन आग्रह गरेको हो ।
एफबीआईका अनुसार अनुसन्धानका क्रममा ट्रेडरट्रेटरले चोरी भएका डिजिटल सम्पत्तिलाई मुख्यतः इथेरियम क्रिप्टोकरेन्सीमा रूपान्तरण गरिरहेको पाइएको छ । समूहले अब विकेन्द्रीकृत वित्तीय सेवा ९डीएफआई० र तत्काल क्रिप्टोकरेन्सी साट्ने सेवामार्फत ती सम्पत्ति रूपान्तरण गर्ने प्रयास गर्न सक्ने ब्युरोको अनुमान छ ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरिया यस घटनामा सङ्लग्न भए-नभएकोबारे आफूहरू अझै निश्चित नभएको बताएका छन् ।
फ्लोरिडास्थित आफ्नो मार-ए-लागो निवासमा शनिबार राति आयोजित हेलोविन कार्यक्रममा सहभागी हुने क्रममा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले भने, ‘म चिन्तित छैन । हामी यसबारे जानकारी लिइरहेका छौं । यो उत्तर कोरिया हो वा होइन भन्ने हामीलाई थाहा छैन ।’
यद्यपि उनले उत्तर कोरियाको सङ्लग्नता पुष्टि हुनसक्ने सम्भावनालाई अस्वीकार गरेनन् ।
क्रिप्टोकरेन्सी विज्ञ एरी रेडबोर्डले ह्याकरहरूले चोरी भएको रकमलाई साना-साना भागमा विभाजन गरी साना एक्सचेन्जहरूमार्फत स्थानान्तरण गरेर आफ्नो पहिचान लुकाउने प्रयास गर्न सक्ने बताए । यस्तो प्रक्रिया महिनौंसम्म चल्न सक्ने उनको अनुमान छ ।
ब्लकचेन इन्टेलिजेन्स कम्पनी टीआरएम ल्याब्सका प्रमुख नीति अधिकारी रेडबोर्डले यस घटनालाई इन्टरनेटको गतिमा भएको बैंक लुटपाटको सङ्ज्ञा दिए । यद्यपि चोरी भएको रकमको कारोबार वास्तविक समयमै निगरानी र पहिचान गर्न सकिने उनले बताए ।
‘हामी अनुसन्धान अघि बढाउन, यस्तो गतिविधि रोक्न र रकम जफत गर्न वास्तविक समयमै ती कारोबारको निगरानी तथा पहिचान गर्न सक्छौं’, उनले भने, ‘यो निरन्तर चलिरहने बिरालो र मुसाबीचको खेल जस्तै हो ।’
बिहीबार भएको उक्त घटनामा बाइनान्सबाट बिटक्वाइनलगायत अन्य डिजिटल मुद्रा गरी ६ अर्ब ३० करोड अमेरिकी डलर चोरी भएको थियो । क्रिप्टोकरेन्सी क्षेत्रका धेरै विज्ञहरूले घटनामा उत्तर कोरियाली ह्याकरहरूको सङ्लग्नता रहेको सङ्केत देखिएको बताएका छन् ।
कम्पनीले शनिबार जारी गरेको विवरणमा चोरीबाट हराएको डिजिटल सम्पत्तिको ९० प्रतिशत बराबरको रकम उपलब्ध रहेको जनाएको छ । साथै ग्राहकहरूलाई भएको क्षतिको पूर्ण क्षतिपूर्ति दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।






















