images
images
  • मुस्ताङ भन्सारको राजस्व साढे तीन महिनामै ११ अर्ब बढि, वार्षिक लक्ष्य नाघ्यो

    काठमाडौं – नेपाल–चीन उत्तरी कोरलानाकास्थित मुस्ताङ भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८३/८४ को साढे तीन महिनामै वार्षिक राजस्व लक्ष्यभन्दा २ अर्ब ४५ करोड रुपैयाँ बढी सङ्कलन गरेको छ । कार्यालयले यस अवधिमा ११ अर्ब ४५ करोड ४७ लाख रुपैयाँ राजस्व उठाएको हो ।

    मुस्ताङ भन्सार कार्यालयका लागि चालु आर्थिक वर्षमा ९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर साउनदेखि कात्तिक १३ गतेसम्मको अवधिमै उक्त लक्ष्य पार भएको भन्सार अधिकृत अमिन्द्र सिंहले जानकारी दिएका छन् ।

    उनका अनुसार उक्त अवधिमा कोरलानाकाबाट २६ अर्ब १ करोड २३ लाख रुपैयाँ बराबरका मालवस्तु चीनबाट आयात भएका छन् । नेपालबाट भने २८ करोड ६३ लाख रुपैयाँ बराबरका वस्तु चीनतर्फ निर्यात भएका छन् ।

    १५ दिनमै थपिए २ हजार ५७५ विद्युतीय गाडी

    कोरलानाकाबाट हुने आयातमा विद्युतीय सवारीसाधनको हिस्सा उल्लेख्य देखिएको छ । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक १३ गतेसम्म चीनबाट आयात गरिएका विभिन्न कम्पनीका ६ हजार ५०१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको छ ।

    दसैँअघि असोज २७ गतेसम्म ३ हजार ९२६ वटा विद्युतीय सवारी नेपाल भित्रिएका थिए । दसैँपछिको १५ दिनमै थप २ हजार ५७५ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास भएको भन्सार अधिकृत सिंहले बताएका छन्।

    यसले कोरलानाका हुँदै चीनबाट विद्युतीय सवारी आयातको गति तीव्र बनेको देखाउँछ।

    दसैँपछि बढ्यो आयात र राजस्व

    दसैँअघि असोज २७ गतेसम्म मुस्ताङ भन्सार कार्यालयले ८ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। दसैँपछिको अवधिमा थप ३ अर्ब १२ करोड ६४ लाख रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ ।

    त्यस्तै, दसैँअघि कोरलानाकाबाट १० अर्ब ४० करोड ६९ लाख रुपैयाँ बराबरका चिनियाँ मालवस्तु आयात भएका थिए। दसैँपछि थप ६ अर्ब ७० करोड ५४ लाख रुपैयाँ बराबरका वस्तु नेपाल भित्रिएका छन् ।

    रसुवागढी र तातोपानी नाका बन्द हुँदा कोरलामा चाप

    भन्सार अधिकृत सिंहका अनुसार रसुवागढी र तातोपानी नाका पूर्ण रूपमा बन्द हुँदा कोरलानाकाबाट हुने आयात–निर्यात कारोबार बढेको हो ।

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि व्यापारिक मार्ग परिवर्तन हुँदा सयौँ कन्टेनरका मालवस्तु कोरलानाकाबाट नेपाल भित्रिएका छन्। यसले कोरलानाकालाई चीनसँगको व्यापारका लागि महत्त्वपूर्ण वैकल्पिक मार्गका रूपमा स्थापित गर्न सहयोग पुगेको छ ।

    हाल कोरलानाका हुँदै चीनबाट तयारी पोसाक, कस्मेटिक सामग्री, विद्युतीय उपकरण, औद्योगिक कच्चा पदार्थ, खाद्यान्न, फलफूल, चाडपर्व लक्षित सामग्री तथा विद्युतीय सवारीसाधन आयात भइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images