images
images
  • गुगलको सेयर मूल्यमा ऐतिहासिक गिरावट, गुम्यो ५०० अर्ब अमेरिकी डलर

    काठमाडौं– अमेरिकी प्रविधि कम्पनी गुगलको मातृ कम्पनी अल्फाबेटको सेयर मूल्यमा ऐतिहासिक गिरावट आएको छ ।

    कम्पनीको सेयर मूल्य एकै दिन १३ प्रतिशतले घटेर बन्द भएको हो । सन् २००४ मा सेयर बजारमा सूचीकृत भएयता अल्फाबेटको यो एक दिनको सबैभन्दा ठूलो गिरावट हो । यससँगै कम्पनीको बजार मूल्य करिब ५०० अर्ब अमेरिकी डलर घटेको छ ।

    कम्पनीले सार्वजनिक गरेको त्रैमासिक वित्तीय विवरणमा निःशुल्क नगद प्रवाह ९ अर्ब ७ करोड अमेरिकी डलर ऋणात्मक देखिएपछि लगानीकर्ता चिन्तित भएका हुन् । बजार विश्लेषकहरूले २ अर्ब ७० करोड डलर सकारात्मक नगद प्रवाह हुने अनुमान गरेका थिए । कृत्रिम बुद्धिमत्ताको प्रतिस्पर्धामा अगाडि रहन तथ्यांक केन्द्र, सर्भर र चिप्समा ठूलो लगानी गर्दा कम्पनीको खर्च बढेको छ ।

    अल्फाबेटले चालु वर्षका लागि पुँजीगत खर्चको लक्ष्य १९५ देखि २०५ अर्ब अमेरिकी डलर कायम राखेको छ । कम्पनीले कृत्रिम बुद्धिमत्तासम्बन्धी पूर्वाधारमा ठूलो रकम खर्च गरिरहेको भए पनि त्यसअनुसार तत्काल आम्दानी बढ्न नसकेको लगानीकर्ताको चिन्ता छ । यही कारण सेयर बिक्रीको चाप बढेको विश्लेषण गरिएको छ ।

    गुगलको मुख्य आम्दानीको स्रोत खोजीसम्बन्धी विज्ञापन व्यवसायको वृद्धि पनि अपेक्षाभन्दा कमजोर देखिएको छ । सेप्टेम्बर त्रैमासिकमा यसबाट हुने आम्दानी १२ प्रतिशतले बढेर ६३ अर्ब ३५ करोड अमेरिकी डलर पुगे पनि विश्लेषकहरूको अनुमान भेट्न सकेन ।

    कम्पनीका अनुसार कृत्रिम बुद्धिमतामा आधारित खोजी सेवामा विज्ञापनबाट हुने आम्दानी अपेक्षाकृत कम छ ।

    अर्कोतर्फ माइक्रोसफ्टको सेयर मूल्य भने लगभग स्थिर रह्यो । कम्पनीको पुँजीगत खर्च ३० प्रतिशतले बढेर ४५ अर्ब २० करोड अमेरिकी डलर पुगेको छ ।

    त्यस्तै यसको निःशुल्क नगद प्रवाह २७ प्रतिशतले घटेर १८ अर्ब ६३ करोड अमेरिकी डलरमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images