काठमाडौं – कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्री तथा निकासीबाट उक्त राजस्व प्राप्त भएको हो ।
मन्त्रालयका सूचना अधिकारी महेश नेपालीका अनुसार सबैभन्दा बढी राजस्व झ्याउ निकासीबाट सङ्कलन भएको छ । प्रतिकेजी ५० रुपैयाँ राजस्व दर रहेको झ्याउ एक लाख ८१ हजार ६०९ केजी निकासी हुँदा ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व प्राप्त भएको उनले जानकारी दिए ।
त्यस्तै, प्रतिकेजी ७५ रुपैयाँ राजस्व दर रहेको जटामसी ९६ हजार ७९२ केजी निकासी भएको छ । यसबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।
यार्सागुम्बा अर्थात् जीवनबुटीबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ । सूचना अधिकारी नेपालीका अनुसार प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व दर रहेको यार्सागुम्बा २५१ केजी ६५६ ग्राम बिक्री भएको थियो ।
यसैगरी, प्रतिकेजी ४० रुपैयाँ राजस्व दर रहेको ३४ हजार ४४५ केजी कटुकीबाट २३ लाख ८१ हजार ६८० रुपैयाँ राजस्व सङ्कलन भएको छ । प्रतिकेजी २५ रुपैयाँ राजस्व दर रहेको सेतक चिनी ४१ हजार ७३२ केजी बिक्री हुँदा २० लाख ४६ हजार ५७५ रुपैयाँ राजस्व प्राप्त भएको छ ।
मन्त्रालयका अनुसार प्रतिकेजी १० रुपैयाँ राजस्व दर रहेको टिमुरबाट १९ लाख ३९ हजार ४०० रुपैयाँ, प्रतिकेजी ५० रुपैयाँ दर रहेको सिलाजितबाट नौ लाख ७७ हजार ८५० रुपैयाँ, प्रतिकेजी २५ रुपैयाँ दर रहेको सुगन्धवालबाट नौ लाख ५० हजार ५८० रुपैयाँ र प्रतिकेजी तीन रुपैयाँ दर रहेको रिठ्ठाबाट नौ लाख ४७ हजार ८३८ रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
उक्त आर्थिक वर्षमा कर्णालीमा कुल २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी सङ्कलन भएको थियो । त्यसमध्ये १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी जडीबुटी प्रदेशबाट निकासी गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।






















