काठमाडौं – पटकपटक दोहोरिने खाना पकाउने एलपी ग्यासको अभाव दीर्घकालीन रूपमा समाधान गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर प्रयोग गर्ने तयारी थालेको छ । होटल, रेस्टुरेन्ट तथा रिसोर्टमा ठूलो परिमाणमा ग्यास खपत हुने तर घरायसी उपभोक्ताले प्रयोग गर्ने समान क्षमताका सिलिन्डरमा निर्भर रहनुपर्दा बजारमा अभाव हुने गरेको निष्कर्षसहित मन्त्रालयले नयाँ व्यवस्था अघि बढाउन गृहकार्य थालेको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव जितेन्द्र बस्नेतले घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर बनाउने विषयमा छलफल भइरहेको जानकारी दिए । अहिले एउटै प्रकृति र क्षमताका सिलिन्डर घरायसी तथा व्यावसायिक दुवै प्रयोजनमा प्रयोग हुँदा आपूर्ति व्यवस्थापनमा समस्या देखिएको उनको भनाइ छ ।
बस्नेतका अनुसार प्रारम्भिक प्रस्तावमा घरायसी प्रयोजनका लागि हालकै १४.२ किलो क्षमताको सिलिन्डर कायम राख्ने र व्यावसायिक प्रयोजनका लागि ५० किलोसम्मका सिलिन्डर प्रयोगमा ल्याउने विषय समेटिएको छ । यसका लागि ग्यास उद्योगी तथा नेपाल गुणस्तर तथा नापतौल विभागसँग छलफल भइरहेको छ ।
“सरकारले निर्णय मात्र गरेर हुँदैन, त्यसका लागि ग्यास उद्योग पनि तयार हुनुपर्छ,” बस्नेतले भने, “अहिले सम्बन्धित उद्योगीसँग छलफल भइरहेको छ भने गुणस्तर विभागसँग पनि निरन्तर परामर्श भइरहेको छ ।”
विशेषगरी होटल, रिसोर्ट र रेस्टुरेन्टमा दैनिक ठूलो परिमाणमा ग्यास खपत हुने भएकाले त्यस्ता व्यवसायमा प्रयोग हुने सिलिन्डरको क्षमता बढाउन मन्त्रालयले जोड दिएको छ । ठूलो क्षमताका सिलिन्डर प्रयोगमा आए व्यावसायिक क्षेत्रमा बारम्बार सिलिन्डर फेर्नुपर्ने अवस्था कम हुने र घरायसी उपभोक्ताका लागि उपलब्ध हुने ग्यासमा पर्ने दबाब घट्ने मन्त्रालयको अपेक्षा छ ।
होटल क्षेत्रको माग १५० किलोसम्मको सिलिन्डर
होटल व्यवसायीले भने मन्त्रालयले प्रस्ताव गरेको ५० किलो क्षमताको सिलिन्डर पनि पर्याप्त नहुने भन्दै कम्तीमा १५० किलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याउन माग गरेका छन् । होटल एसोसिएसन अफ नेपाल ९हान०का कोषाध्यक्ष युवराज श्रेष्ठले विदेशका होटलमा ठूलो क्षमताका सिलिन्डर मात्र नभई ग्यास उद्योगले बुलेट नै होटल परिसरमा राखेर आवश्यकताअनुसार रिफिल गर्ने अभ्यास रहेको बताए ।
“एकै पटक धेरै सिलिन्डर स्टोर गरेर राख्दा सरकारले पनि नकारात्मक रूपमा प्रचार गरिदिने र आम जनतामा पनि नकारात्मक सन्देश फैलिने गरेको छ,” श्रेष्ठले भने, “होटलको क्षमताअनुसार बुलेट राख्ने वा ठूलो क्षमताको सिलिन्डर प्रयोग गर्न सहजीकरण गरिदिए राम्रो हुन्छ ।”
उनका अनुसार व्यावसायिक क्षेत्रमा ग्यास आपूर्तिको छुट्टै व्यवस्था गर्न सके होटल तथा रेस्टुरेन्टले नियमित सञ्चालनका लागि आवश्यक इन्धन व्यवस्थापन गर्न सहज हुनेछ ।
रङका आधारमा छुट्याउने पुरानो योजना कार्यान्वयन भएन
यसअघि पनि घरायसी र व्यावसायिक प्रयोजनका ग्यास सिलिन्डर छुट्याउन नेपाल आयल निगममार्फत फरक–फरक रङ प्रयोग गर्ने योजना अघि सारिएको थियो । निगमले केही समय रातो र नीलो रङका सिलिन्डर प्रयोगमा ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा अहिले दुवै प्रयोजनमा एउटै प्रकृतिका सिलिन्डर प्रयोग भइरहेका छन् ।
पुरानो योजना कार्यान्वयन हुन नसकेको अवस्थामा अहिले अघि सारिएको फरक क्षमताका सिलिन्डर प्रयोग गर्ने प्रस्ताव पनि कार्यान्वयनमा पुग्नेमा व्यवसायीहरूले आशंका व्यक्त गरेका छन्। उनीहरूले छलफल र घोषणामा मात्र सीमित नराखी उद्योगी, नियामक निकाय र सरकारबीच सहमति गरेर व्यावहारिक रूपमा लागू गर्नुपर्ने बताएका छन्।
व्यावसायिक ग्यासको मूल्यसमेत बढ्ने संकेत
घरायसी र व्यावसायिक प्रयोजनका लागि फरक क्षमताका सिलिन्डर प्रयोगमा ल्याउँदा मूल्य निर्धारण पनि फरक हुने देखिएको छ। मन्त्रालय स्रोतका अनुसार व्यावसायिक प्रयोजनका लागि बिक्री हुने ग्यासको मूल्य बढाउने विषयमा समेत गृहकार्य भइरहेको छ।
हाल घरायसी उपभोक्तासरहकै मूल्यमा व्यावसायिक क्षेत्रमा पनि ग्यास उपलब्ध हुँदै आएको छ । तर व्यावसायिक प्रयोजनका लागि ठूलो क्षमताका सिलिन्डर प्रयोगमा ल्याइएपछि तौलअनुसार मूल्य निर्धारण गर्ने तयारी नेपाल आयल निगमले गरेको स्रोतको भनाइ छ ।






















