काठमाडौं – ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा बिहीबारदेखि सुरु भएको प्रदर्शनी पाँच दिनसम्म सञ्चालन हुनेछ ।
‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नारासहित आयोजित प्रदर्शनीमा नेपालमा उत्पादित तथा यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा राखिएका छन् । प्रदर्शनीमा ८६ वटा स्टलमार्फत फूल तथा बिरुवाको बिक्री र प्रदर्शन भइरहेको आयोजकले जनाएको छ ।
प्रदर्शनीअन्तर्गत गोदावरी फूलका पाँच विधामा प्रतियोगितासमेत आयोजना गरिएको छ । यसले फूल उत्पादकलाई आफ्ना उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै पुष्प व्यवसायको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
आयोजकका अनुसार प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अनुमान गरिएको छ ।























