काठमाडौं– अमेरिकाले इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे विचार गरिरहेका बेला रक्षामन्त्री पीट हेग्सेथले पेन्टागनका वरिष्ठ योजना अधिकारी लेफ्टिनेन्ट जनरल ब्रेट सिल्भियालाई पदबाट हटाएका छन । सीएनएनका अनुसार संयुक्त चिफ्स अफ स्टाफअन्तर्गत रणनीति, योजना तथा नीतिका निर्देशक सिल्भियालाई हटाउनुको कारण खुलाइएको छैन ।
यो घटना हेग्सेथले वरिष्ठ सैन्य अधिकारीहरूलाई पदबाट हटाउँदै आएको शृङ्खलाको पछिल्लो उदाहरण हो । यसअघि सेना प्रमुख जनरल र्यान्डी जर्ज, जनरल डेभिड होडन, नौसेना सचिव जोन फेलान तथा साइबर कमान्ड र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुख जनरल टिमोथी हग पनि पदबाट हटाइएका थिए । जर्ज र हेग्सेथबीच इरान द्वन्द्वका विषयमा मतभेद रहेको विवरण सार्वजनिक भएको थियो ।
यसैबीच इरानका सर्वोच्च नेता अयातुल्ला सैयद मोजतबा खमेनीले क्षेत्रीय रूपमा कायम ‘न युद्ध न शान्ति’ को अवस्था अन्त्य गर्न आह्वान गरेका छन् ।
राष्ट्रपति मसुद पेजेस्कियानले सम्भावित खतरा, प्रतिबन्ध र बाह्य दबाबको सामना गर्न राष्ट्रिय सहनशीलता बढाउनुपर्ने बताएका छन् ।
इरानी मन्त्रिपरिषद्को बुधबारको बैठकमा वर्तमान अवस्थाको व्यवस्थापन र सम्भावित परिस्थितिको सामना गर्ने तयारीबारे छलफल भएको थियो । बैठकमा विदेशमन्त्री अब्बास अराघचीले कतारी प्रतिनिधिमण्डल र पाकिस्तानका सेना प्रमुखको भ्रमणसहितका कूटनीतिक गतिविधि तथा क्षेत्रीय परामर्शबारे प्रतिवेदन प्रस्तुत गरेका थिए ।






















