images
images
  • हुलाकी सडक विस्तारसँगै बाँके–बर्दियामा औद्योगिक लगानी बढ्दै

    काठमाडौं – हुलाकी सडकको विस्तारसँगै बाँके र बर्दियामा औद्योगिक लगानी बढ्न थालेको छ । नयाँ उद्योग स्थापना र पुराना उद्योग पुनः सञ्चालनमा आउने क्रम बढेसँगै पश्चिम नेपालमा उत्पादनमूलक उद्योगको सम्भावना विस्तार हुँदै गएको छ ।

    बाँकेको खजुरामा अन्ट्राटिक बिस्कुट प्रालि ९पार्ले–जी० को पूर्वाधार निर्माण भइरहेको छ । उद्योग सञ्चालनमा आएपछि पश्चिम नेपालमै बिस्कुट उत्पादन र बजार विस्तारको नयाँ सम्भावना खुल्ने अपेक्षा गरिएको छ ।

    छिमेकी बर्दियाको गुलरिया नगरपालिका–८ मा चार अर्ब रुपैयाँको लगानीमा लमिनार भिट्रीफिड टायल उद्योग सञ्चालनमा आएको छ । सुवरत धिताल, अभिनव चुरिवाल र श्याम खेतानको लगानीमा स्थापना भएको उद्योगले देशभर आफ्नो उत्पादन पुर्‍याउने लक्ष्य राखेको छ । यी दुई उद्योगको स्थापनाले बाँके र बर्दियामा औद्योगिक लगानी विस्तार हुँदै गएको देखाएको छ ।

    बाँकेमा जय अम्बे स्टिल, सगरमाथा स्टिल इन्डस्ट्रिज, नेपाल बेलहोप एग्रीटेक, वर्षा रिसाइक्लिङ इन्डस्ट्रिज र विकास फ्लोर मिललगायतका उद्योग सञ्चालनमा छन् । यसबाहेक विभिन्न उद्योगले अनुमति प्राप्त गरी पूर्वाधार निर्माण अघि बढाएका छन् ।

    बर्दियामा पनि चिनी उद्योगको विस्तार भइरहेको छ। जिल्लामा ठूलो लगानीका दुई चिनी उद्योग सञ्चालन गर्ने योजना रहेकोमा राजापुर सुगर मिल सञ्चालनमा आइसकेको छ भने अर्को उद्योग सञ्चालनको तयारीमा रहेको जनाइएको छ । चिनी उद्योगको विस्तारले उखुखेती, किसानको बजार पहुँच, स्थानीय रोजगारी र कृषिमा आधारित उद्योगको विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

    नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चिरञ्जीवी ओलीले बाँकेमा ठूला उद्योग स्थापना हुन थालेपछि यस क्षेत्रमा लगानीको वातावरण विस्तार हुँदै गएको बताए । द्वन्द्वकालमा प्रभावित भएका पुराना उद्योग पुनः सञ्चालनमा आउनु र नयाँ उद्योग स्थापना हुनु सकारात्मक भएको उनको भनाइ छ ।

    “राजनीतिक स्थिरता र ऊर्जालगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ र बाँके औद्योगिक केन्द्रका रूपमा विकास भइरहेको छ,” ओलीले भने ।

    शिखर प्लाइउड प्रालिका सञ्चालक चम्पालाल बोथराले पश्चिम नेपालमा ठूलो बजार सम्भावना रहेकाले उद्योगी बाँकेमा लगानी गर्न आकर्षित भएको बताए । ठूलो परिमाणमा उत्पादन बिक्री गर्न सकिने र बजार विस्तारको सम्भावना राम्रो भएकाले उद्योगीले बाँकेलाई रोज्ने गरेको उनले उल्लेख गरे । अन्य कतिपय स्थानको तुलनामा उद्योग सञ्चालनका लागि जग्गा प्राप्त गर्न सहज हुनु पनि यस क्षेत्रको आकर्षण भएको उनको भनाइ छ ।

    तर, औद्योगिक लगानी बढ्दै गए पनि ऊर्जा आपूर्तिको समस्या चुनौतीका रूपमा रहेको उद्योगीहरूले बताएका छन् । अम्बे स्टिलका सुरेश पण्डितका अनुसार उक्त उद्योगले करिब छ वर्षदेखि उत्पादन गर्दै आए पनि विद्युत् अनियमितताका कारण अपेक्षित उत्पादन गर्न सकेको छैन। बाँकेको जानकी गाउँपालिका–५, बेलभारीस्थित उद्योगमा विद्युत्सम्बन्धी समस्याका कारण एक सातादेखि उत्पादन ठप्प रहेको उनले बताए ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वकेन्द्रीय सदस्य अब्दुल वाहिद मन्सुरीले पनि बाँकेलाई लगानीका लागि सम्भावनायुक्त क्षेत्रका रूपमा व्याख्या गरे । राजनीतिक अस्थिरता र ऊर्जा समस्याका कारण विगतमा लगानीकर्ता हिचकिचाउने गरेको भए पनि पछिल्लो समय ठूला उद्योग स्थापना हुने क्रम बढ्नु सकारात्मक भएको उनको भनाइ छ ।

    भारतसँग सीमा जोडिएको बाँकेको औद्योगिक सम्भावना बढ्नुमा नेपालगन्ज–रुपैडिहा नाकाबाट हुने आयात–निर्यात, एकीकृत जाँच चौकीको विकास तथा रेलमार्ग विस्तारलाई पनि महत्त्वपूर्ण मानिएको छ सडक तथा व्यापारिक पूर्वाधारको विस्तारले उद्योगलाई कच्चा पदार्थ आयात गर्न र उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज बनाउने अपेक्षा गरिएको छ ।

    बाँके र बर्दियामा उद्योग विस्तार हुँदै जाँदा पश्चिम नेपालमा उत्पादनमूलक अर्थतन्त्रको आधार फराकिलो बन्न सक्ने सम्भावना देखिएको छ। यद्यपि, लगानीलाई दिगो बनाउन भरपर्दो विद्युत् आपूर्ति, पूर्वाधारको निरन्तर विकास र उद्योग सञ्चालनमैत्री वातावरण आवश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images