काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत बिहीबार भएको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुरलाई ११६ रनको लक्ष्य दिएको छ।
जनकपुर बोल्ट्सका तीव्र गतिका बलर राहुल यादव चम्किएपछि काठमाडौं ११५ रनमै समेटिएको हो ।
आफ्नो पहिलो खेलमा ट्यालेन्ट हन्टबाट उदाएका १६ वर्षीय राहुलले जनकपुरको लागि सर्वाधिक चार विकेट लिनुका साथै काठमाडौंको ब्याटिङ धराशायी बनाएका थिए ।
त्रिवि क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरे पनि टोलीले सोचेको जस्तो प्रदर्शन गर्न सकेन । निर्धारित १९.३ ओभरमा अल आउट हुँदा टिमले ११५ रनमात्र बनाउन सक्यो ।
काठमाडौंका लागि मध्यक्रमका ब्याटर भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । भीमलाई ललित राजवंशीले विकेटकिपर परेराबाट स्टम्पिङ गरेका थिए । यसबाहेक रसिद खानले १७ तथा ओपनर स्मित पटेलले १३ रनको योगदान गरेका थिए । सुमित महर्जनको नाममा १० रन रह्यो ।
राहुलले चार ओभरमा चार विकेट लिएर ३१ रन खर्चिए । राहुलले महत्त्वपूर्ण खेलाडीहरु साम, स्मित, कप्तान करण र चर्चित अलराउन्डर आदिललाई पेभिलिएन फर्काएका थिए । राहुलले पछिल्लो खेलमा कर्णालीविरुद्ध २ विकेट लिएका थिए ।
प्रतियोगितामा जनकपुर पनि पहिलो जितको खोजीमा छ । यसअघि जनकपुर आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो । दोस्रो खेलमा जनकपुरले जेम्स निसमलाई विश्राम दिएको छ ।
यस्तै हर्मितसँगै माइन अलीलाई निरन्तरता दिँदा नयाँ खेलाडी बंगलादेशका सइफ हसन र श्रीलंकाका कुशल परेरालाई खेलाएको छ ।





















