काठमाडौं – सुनसरीको धरानमा भन्सार छली गरी ल्याइएका किराना तथा खाद्यान्न सामग्रीसहित तीन जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूका साथबाट करिब नौ लाख ८२ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको जनाएको छ ।
इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान फेला परेका थिए । इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा सामानसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय भूपेन्द्र राजवंशी र सोही ठाउँका कात्तिक राजवंशी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार बरामद सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
यसैबीच, कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसबाट खटिएको टोलीले सात लाख पाँच हजार ८८० रुपैयाँ बराबरका लत्ताकपडा, मोटर पार्ट्स, रङ्गोली, किराना सामान तथा आतिशबाजीका सामग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीका अनुसार बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ । प्रतिबन्धित पटका भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ ।






















