images
images
  • बाढीपहिरोपछि अन्नपूर्ण सर्किटमा पर्यटकको चहलपहल बढ्यो

    काठमाडौं – असोज दोस्रो साताको वर्षा, बाढीपहिरो र हिमपातका कारण प्रभावित बनेको अन्नपूर्ण सर्किट (चक्रिय अन्नपूर्ण पदमार्ग) मा विदेशी पर्यटकको चहलपहल बढ्न थालेको छ । मौसम अनुकूल बन्दै जानु र पदमार्गमा आवागमन सहज हुन थालेपछि पर्यटक आगमनले पुनः गति लिएको हो ।

    पदमार्ग तथा सडकमा क्षति पुग्दा करिब तीन सातासम्म प्रभावित बनेको पर्यटक आगमन पछिल्लो समय बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । मनाङको धारापानीस्थित पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रमा अक्टोबर १३ मा एकै दिन ५५२ विदेशी पर्यटकले चेकइन गरेका थिए । यो यस वर्षकै एक दिनमा आएको सबैभन्दा ठूलो संख्या भएको केन्द्रले जनाएको छ । अक्टोबर १४ मा ४७३ र अक्टोबर १५ मा ४४३ पर्यटक भित्रिएका थिए ।

    दसैं अवधिमा मात्रै, घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म अर्थात् अक्टोबर ११ देखि २५ सम्म, ५ हजार ३८४ विदेशी पर्यटकले अन्नपूर्ण पदमार्गको यात्रा गरेका छन् । यो संख्या गत वर्षको दसैं अवधिको तुलनामा ७६९ ले बढी हो । गत वर्ष सोही अवधिमा ४ हजार ६१५ पर्यटकले पदमार्गको भ्रमण गरेका थिए । यस वर्ष दसैं अवधिमा आएका पर्यटकमध्ये ३ हजार २८८ पुरुष, २ हजार ९४ महिला र लिङ्ग नखुलेका दुई जना छन् ।

    एक्याप धारापानीस्थित पर्यटक चेकपोस्ट तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बाढीपहिरोपछि पर्यटक आगमन लगभग रोकिएको थियो भने आएका केही पर्यटकसमेत फर्किएका थिए । मौसम अनुकूल हुनु र पदमार्ग सञ्चालनमा आउन थालेपछि आगमन सहज हुँदै गएको उनले बताए ।

    एक्याप मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पर्यटकीय सिजन सुरु हुने बेलामै प्राकृतिक विपत्तिले पदयात्रा प्रभावित बनाएको थियो । बाढीपहिरोका कारण मनास्लु पदमार्ग अवरुद्ध भएपछि केही पर्यटकले अन्नपूर्ण पदमार्ग रोजेको उनले बताए । पदयात्राप्रति बढ्दो आकर्षण पनि पर्यटक आगमन वृद्धिको एउटा कारण रहेको उनको भनाइ छ ।

    असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षासँगै माथिल्लो क्षेत्रमा हिमपात हुँदा पदमार्गका विभिन्न खण्डमा क्षति पुगेको थियो । चामेमाथिको भ्राताङ क्षेत्रसहित तल्लो मनाङमा सडक तथा पदमार्ग बगाएको थियो । असोज ९, १० र ११ गते माथिल्लो मनाङस्थित एक्याप कार्यालयमा पर्यटक चेकइनसमेत भएको थिएन ।

    बाढीपहिरो र हिमपातका कारण यात्रा प्रभावित भएपछि केही पर्यटकले पदयात्रा छोट्याएर फर्किनुपरेको थियो । एक्यापका अनुसार विपत्ति सुरु भएको एक साताभित्रै ३७९ विदेशी पर्यटक मनाङबाट फर्किएका थिए । अक्टोबर १ मा मात्रै १४९ पर्यटक फर्किएको जनाइएको छ ।

    चामेको ट्रस ब्रिजमा अस्थायी संरचना बनाएर आवागमन सहज पारिएपछि माथिल्लो मनाङसम्म सवारीसाधन र पर्यटक पुग्ने अवस्था बनेको थियो । माथिल्लो मनाङदेखि थोराङ्ला क्षेत्र र तिलिचो ताल जाने पदमार्गमा सुरक्षाकर्मी, एक्यापका कर्मचारी तथा होटल व्यवसायीले हिउँ हटाउनुका साथै मर्मत गरेका थिए । मौसम खुल्दै जानु र आवागमन सहज बन्नुले पर्यटकको चहलपहल बढेको स्रोतले बताए ।

    एक्यापका अनुसार जनवरीदेखि अक्टोबर २७ सम्म चक्रिय अन्नपूर्ण पदमार्गमा आउने विदेशी पर्यटकको संख्या ३० हजार १३५ पुगेको छ । तीमध्ये १८ हजार ८२० पुरुष, ११ हजार ३०६ महिला र लिङ्ग नखुलेका नौ जना पर्यटक धारापानीस्थित चेकपोस्टमा दर्ता भएका छन् ।

    लमजुङको बेंसीसहरबाट सुरु हुने अन्नपूर्ण सर्किट मनाङ हुँदै ५ हजार ४१६ मिटर उचाइको थोराङ्ला भञ्ज्याङ पार गरेर मुस्ताङको मुक्तिनाथ र म्याग्दी हुँदै पोखरा पुगेर टुंगिन्छ । केही पर्यटक तिलिचो ताल पुगेर फर्किने गर्छन् भने केही थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङतर्फ लाग्छन् । हिमाली भूगोल, प्राकृतिक दृश्य, स्थानीय संस्कृति र उच्च हिमाली भञ्ज्याङ यस पदमार्गका प्रमुख आकर्षण हुन् ।

    पहिले अन्नपूर्ण सर्किटको यात्रा पूरा गर्न करिब २१ दिन लाग्ने गरे पनि माथिल्लो मनाङ र मुस्ताङको मुक्तिनाथसम्म सडक पहुँच विस्तार भएपछि यात्रा अवधि छोटिएर एक सातादेखि १० दिनसम्ममा सीमित भएको छ । यात्रा अवधि छोटिए पनि अन्नपूर्ण पदमार्ग विदेशी पर्यटकको रोजाइमा रहँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images