images
images
  • पोखरामा शौचालयको च्याम्बरमा नवजात शिशुको शव, १९ वर्षीया महिला पक्राउ

    काठमाडौं – कास्कीको पोखरामा शौचालयको च्याम्बरमा सालनालसहित मृत नवजात शिशु फेला परेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले १९ वर्षीया महिलालाई पक्राउ गरेको छ ।

    पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्ट्रिट नम्बर ८ को भित्री गल्लीमा रहेको एक टहराको शौचालयको च्याम्बरमा गत कात्तिक ३ गते साँझ पुरुष नवजात शिशुको शव फेला परेको थियो । शौचालय जाम भएर पानी बाहिर ननिस्किएपछि घरधनी तोडबहादुर थापाले च्याम्बर खोलेर हेर्दा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    घटनाको अनुसन्धानका क्रममा प्रहरीले पोखरा–६ लेकसाइडमा भाडामा बस्दै आएकी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ की निरता नेपालीमाथि शंका गरेको थियो । घटनापछि फरार रहेकी उनलाई प्रहरीले कात्तिक ४ गते राति करिब १ः१५ बजे पोखरा महानगरपालिका–२१ लुकुनस्वाराबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ परेकी महिलाको चिकित्सकीय स्वास्थ्य परीक्षणसमेत गरिएको छ । अनुसन्धानका क्रममा उनको विवाह २०७८ सालमा स्याङ्जाकै राजन सार्कीसँग सामाजिक परम्पराअनुसार भएको खुलेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । प्रहरीले महिलालाई कास्की जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी कसुरमा १० दिनको म्याद थप गराएर अनुसन्धान अघि बढाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images