images
images
  • मिसेस नेपाल वर्ल्डको ट्यालेन्ट शो सम्पन्न

    काठमाडौं – ह्वीसपर मिसेस नेपाल वर्ल्ड २०२६ को ट्यालेन्ट शो सम्पन्न भएको छ । प्रतियोगिताको अन्तिम चरणमा पुगेका २२ महिलाले नृत्य, अभिनय, कविता वाचनलगायतका प्रस्तुतिमार्फत आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

    सौन्दर्य प्रतियोगिता बाहिरी आकर्षणमा मात्र सीमित नभई व्यक्तित्व, सिर्जनशीलता र प्रतिभा प्रस्तुत गर्ने मञ्च पनि हो भन्ने सन्देशसहित आयोजित ट्यालेन्ट शोमा प्रतियोगीहरूले आ–आफ्नो रुचि र क्षमताअनुसार प्रस्तुति दिएका थिए । उनीहरूको प्रस्तुतिले कार्यक्रमलाई थप रोचक बनाएको आयोजकले जनाएको छ ।

    यस चरणबाट ‘मिसेस ट्यालेन्ट’ उपाधिका लागि विजेता छनोट गरिनेछ । आयोजक संस्था रिवन इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत निशुकान्त झाले अन्तिम प्रतिस्पर्धाकै दिन उक्त उपाधिका विजेताको घोषणा गरिने जानकारी दिए ।

    ट्यालेन्ट शोको मूल्यांकन संगीतकार राजु सिंह, नृत्य निर्देशक जोगेन्द्र केसी, अभिनेता तथा मोडल यसराज गराच र शिक्षाविद् ज्ञानेन्द्र लामाले गरेका थिए ।

    आगामी कात्तिक १४ गते काठमाडौंको प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा प्रतियोगिताको अन्तिम स्पर्धा हुँदैछ । उपाधिका लागि प्रियशिखा खड्का, सगुन खनाल, सोफिया ढकाल, ऋचा शर्मा, स्वेक्षा पौड्याल, रस्ना श्रेष्ठ, यस्मिन बेगम सइद, नेहा गुप्ता, दिप्ती ढुंगेल, बिन्दु थापा राना, शिल्पा न्यौपाने, शान्ता राना, सुनिता श्रेष्ठ कर्माचार्य, सन्ध्या लामा, बिनिता गुरुङ, ज्योति लामिछाने, समीक्षा रानाभाट, सुष्मा थापा, क्रिस्टिना ज्ञवाली, अञ्जु परियार, मोनिका तामाङ र कञ्चन महर्जन प्रतिस्पर्धामा छन् ।

    प्रतियोगितामा गृहिणीदेखि चिकित्सक, इन्जिनियर, बैंकर, व्यवसायी, नर्स र फेसन डिजाइनरसम्म विभिन्न पेसामा आबद्ध महिलाहरू सहभागी छन् । आयोजकका अनुसार विविध पृष्ठभूमिका यी प्रतिस्पर्धीले अन्तिम स्पर्धामा आफ्नो प्रतिभा, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्नेछन् ।

    मिसेस नेपाल वर्ल्डको विजेताले अमेरिकामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता ‘मिसेस वर्ल्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछिन् ।

    यसै मञ्चबाट मिसेस नेपाल इन्टरनेसनल, एमएस इन्टरनेसनल र मिसेस कोस्मोका विजेतासमेत चयन गरिने आयोजकले जनाएको छ । प्रतियोगिताकी अर्की आयोजक शिला बास्तोलाका अनुसार ती उपाधिका विजेताले सिंगापुरमा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images