images
images
  • जीर्ण हुम्ला–सुर्खेत सडकमा जोखिमपूर्ण यात्रा, तीन दिनसम्म सास्ती

    काठमाडौं – हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । वर्षा होस् वा घाम, जुनसुकै बेला पहिरो खस्ने जोखिम रहेकाले यस सडकमा यात्रा कठिन र असुरक्षित बनेको स्थानीयवासीले बताएका छन् ।

    सर्केगाड गाउँपालिका–१, जैरका नवराज रावतले हुम्लाबाट सुर्खेतसम्मको तीनदिने जोखिमपूर्ण यात्रा गरेपछि कर्णाली करिडोरको अवस्थाप्रति असन्तुष्टि व्यक्त गरे । उनका अनुसार विकास र समृद्धिका ठूला योजना तथा प्रतिबद्धता सार्वजनिक भइरहे पनि कर्णालीवासीले अझै सुरक्षित सडकमा यात्रा गर्न पाएका छैनन् ।

    नेपालगन्जको जमुनाहादेखि चीनसँगको सीमावर्ती हिल्सासम्म जोड्ने महत्वपूर्ण मार्गका रूपमा रहेको कर्णाली करिडोर वर्षौंदेखि यात्रुका लागि सास्तीको माध्यम बनिरहेको रावतको गुनासो छ । सडक निर्माण तथा स्तरोन्नतिका लागि वर्षौंदेखि बजेट खर्च हुँदै आए पनि यात्रामा सहजता नआएको भन्दै उनले सङ्घीय र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

    सडकका जोखिमपूर्ण स्थानमा बनाइएका काठे तटबन्धलगायत संरचनाको गुणस्तरमाथि प्रश्न उठाउँदै रावतले बजेट खर्चको प्रभावकारिता र निर्माण कार्यको अनुगमन आवश्यक रहेको बताए। सडकको वास्तविक अवस्था बुझ्न सम्बन्धित निकायका प्रतिनिधिले यात्रु र स्थानीयले भोगिरहेको कठिनाइ प्रत्यक्ष अनुभव गर्नुपर्ने उनको भनाइ छ ।

    सर्केगाड गाउँपालिका–१ को खच्चामा होटल व्यवसाय गर्दै आएका डिलबहादुर कार्कीले पनि सडक स्तरोन्नति नहुँदा यात्रु तथा स्थानीयवासीले समस्या भोग्नुपरेको बताए। स्थानीय नवराज महताराले कबाडी–सलिसल्ला सडकखण्डको अवस्थालाई गम्भीर चुनौतीका रूपमा औँल्याएका छन् ।

    सडकको जोखिमपूर्ण अवस्थाले यात्रु आवतजावतसँगै मालसामान ढुवानीमा समेत समस्या सिर्जना गरेको छ । आपत्कालीन अवस्थामा आवतजावत गर्न कठिन हुने भएकाले स्वास्थ्य उपचार तथा अन्य अत्यावश्यक सेवामा पुग्नसमेत समस्या हुन सक्ने स्थानीयवासीको भनाइ छ ।

    कर्णाली करिडोर हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने महत्वपूर्ण मार्ग हो। यस सडकले स्थानीय नागरिकको आवतजावत, खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको ढुवानी, स्वास्थ्य सेवा र पर्यटनसँग प्रत्यक्ष सम्बन्ध राख्छ । तर, सडकको जोखिमपूर्ण अवस्थाका कारण नागरिकले सहज र सुरक्षित यात्राको प्रत्याभूति पाउन सकेका छैनन् ।

    प्राकृतिक विपत्तिका कारण पहिरो जाने र सडक अवरुद्ध हुने समस्या देखिए पनि जोखिम न्यूनीकरण, नियमित मर्मतसम्भार तथा निर्माण गरिएका संरचनाको गुणस्तर सुनिश्चित गर्नु सम्बन्धित निकायको जिम्मेवारी हो । स्थानीयवासीले सडकको अवस्था सुधार गर्न बजेटको प्रभावकारी उपयोग, निर्माण कार्यको अनुगमन र स्तरोन्नतिमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images