काठमाडौं – कास्की कारागारमा जन्मकैदको सजाय भोगिरहेका एक कैदी बिजुली मर्मतका लागि राखिएको भ¥याङ चढेर फरार भएपछि कारागारको सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ । कर्तव्य ज्यान र डाँकासम्बन्धी कसुरमा कैद सजाय भोगिरहेका पोखरा महानगरपालिका–१८ खपौदीका ३७ वर्षीय सन्तोष जलारी गत असोज ३१ गते राति कारागारबाट भागेका थिए ।
राति करिब २ बजे कारागारमा बिजुली मर्मतका लागि राखिएको भ¥याङ प्रयोग गरेर जलारी फरार भएको प्रहरीले जनाएको छ । उनी फरार भएको तीन दिनपछि कात्तिक ३ गते पोखराकै एक होटलबाट पक्राउ परेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार जलारीले योजनाबद्ध रूपमा कारागारबाट भाग्ने तयारी गरेका थिए । अनुसन्धानका क्रममा उनले एक महिनादेखि भाग्ने योजना बनाएको बताएका छन् ।
प्रहरीका अनुसार जलारीले कारागारभित्र पसलसमेत सञ्चालन गर्दै आएका थिए । बिजुली मर्मतका लागि राखिएको भ¥याङ आफ्नै पसल रहेको ठाउँमा राखेर मध्यरातमा भागेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक कार्कीले बताए ।
“भोलि पनि बिजुली मर्मत गर्नुपर्छ भनेर उनले भ¥याङ आफ्नै पसल भएको ठाउँमा राखेको र मध्यरातमा भागेको पाइएको छ”, कार्कीले भने, “उनले नाइके र अरू कैदीलाई पनि झुक्काएर भागेको देखिन्छ।”
कारागारको सुरक्षार्थ खटिएका प्रहरी र कैदीका नाइकेको पर्याप्त ध्यान नपुग्दा जलारी भाग्न सफल भएको प्रहरीको भनाइ छ । कारागारबाट कैदी फरार हुने घटना विरलै हुने उल्लेख गर्दै प्रहरी उपरीक्षक कार्कीले यस घटनाले कारागारको सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिनुपर्ने देखाएको बताए।
कारागारका जेलर घनश्याम गौतमले कैदी गणना गर्ने क्रममा भोलिपल्ट बिहान मात्र जलारी फरार भएको थाहा भएको बताए। घटनापछि कारागारको सुरक्षा व्यवस्थाबारे प्रश्न उठ्नु स्वाभाविक भएको उनको भनाइ छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले जलारीलाई पक्राउ गरेको थियो । उनीमाथि कारागार ऐनसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।
प्रहरीका अनुसार ज्यान र डाँकासम्बन्धी मुद्दामा जलारीले यसअघि नै २५ वर्ष कैद सजाय पाएका छन् । पछिल्लो घटनामा थप पाँच वर्षसम्म कैद सजाय हुन सक्ने प्रहरी उपरीक्षक कार्कीले बताए।























