काठमाडौं – सर्वोच्च अदालतको आदेशपछि चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा (ट्रायल) बन्द हुँदा चितवनसहित आसपासका जिल्लाका सेवाग्राही समस्यामा परेका छन्। गत साउन १० गतेदेखि परीक्षा रोकिँदा नयाँ अनुमतिपत्र लिने र पुनः परीक्षा दिनुपर्ने सेवाग्राही प्रभावित भएका हुन् ।
यातायात व्यवस्था कार्यालय भरतपुरका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार निजी ट्रायल सेन्टरमा सञ्चालन हुँदै आएको परीक्षामा अदालतको आदेशपछि रोक लागेको हो । परीक्षा बन्द हुँदा पुनः परीक्षा (रि–ट्रायल) दिनुपर्ने करिब ८०० जनाको परीक्षा रोकिएको छ ।
त्यस्तै, साप्ताहिक रूपमा रि–ट्रायल दिने तथा नियमित परीक्षा दिने गरी करिब दुई हजार सेवाग्राही प्रभावित भएको पौडेलले बताए । उहाँका अनुसार ट्रायल सेन्टर सञ्चालनका लागि गरिएको ठेक्का रद्द गरी पुनः ठेक्का प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि परीक्षा सञ्चालन हुन नसकेको हो ।
मन्त्रालयबाट आवश्यक निर्देशन वा परिपत्र नआएका कारण नयाँ बोलपत्र आह्वान गर्न नसकिएको पौडेलले जानकारी दिनुभयो। “मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन,” उनले भने ।
परीक्षा रोकिए पनि कार्यालयले सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र र रुट परमिटसम्बन्धी अन्य सेवा भने सञ्चालन गरिरहेको छ । तर, लिखित तथा प्रयोगात्मक परीक्षा दिनुपर्ने सेवाग्राहीले भने लामो समयदेखि सेवा पाउन सकेका छैनन् ।
ट्रायल सेन्टर सञ्चालनमा रहेका बेला एकपटकमा करिब ४०० जना नयाँ तथा पुराना सेवाग्राहीले सवारी चालक अनुमतिपत्रको लिखित र प्रयोगात्मक परीक्षा दिने गरेका थिए। परीक्षा पुनः सञ्चालन हुने मिति अनिश्चित हुँदा सेवाग्राहीले थप समय र खर्च बेहोर्नुपर्ने अवस्था सिर्जना भएको छ ।























